दशैंको मुखमा प्रदर्शनमा आउने फिल्मलाई व्यापारिक सफलता नमिल्ने देखिएको छ । हलका दर्शक बजार, व्यापार र यात्रामा व्यस्त हुने हुँदा यस्तो अनुमान गरिएको हो ।
उसो त दशैं अगाडी बिग व्यानर र स्टार कास्ट फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन चाहेको देखिदैन । असोज ११ बाट प्रदर्शनमा आएको नम्रता श्रेष्ठ र अर्पण थापा अभिनित फिल्मले यो परिधिलाई तोड्ला ? आशा गरौं । वितरक सुनिल मानन्धर भन्छन्- 'दशैं अगाडी फिल्मको व्यापार खासै हुँदैन ।'
अर्का वितरक नरेन्द्र महर्जन थप्छन्- 'दशैं अगाडी हल बन्दको स्थितिमा हुन्छन् । फिल्म चलाएर लाईट खर्च उठाउन पनि मुस्किल पर्छ ।' उनी थप्छन्- 'प्रचार व्यापक भएका फिल्मले मात्रै ठिकैको व्यापार गर्छन् । प्रचार कम र स्टार कास्ट विनाका फिल्मको व्यापार शून्य जस्तै हुन्छ ।'
गत हप्ता प्रदर्शनमा आएका तीन फिल्म प्राण भन्दा प्यारो, दुश्मनी र खेतालाको व्यापार पनि निराशको रह्यो । तीन फिल्मले एक सातामा करिब दश लाख ग्रसको व्यापार गरेको एक वितरकले बताए । दशैं अगाडी पर्ने सोर्ह श्राद्धमा पनि फिल्म नचल्ने फिल्मकर्मीको बिश्लेषण छ ।

