फिल्म क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको वैवाहिक जीवन भने असफल रह्यो । निर्माता छविराज ओझासँगको १० बर्षे वैवाहिक सम्बन्धलाई रेखाले गएको बर्ष पूर्ण विराम दिइन् । सम्बन्ध विच्छेदको मुख्य कारण उमेर अन्तर र वैचारिक द्धन्द्ध भएको रेखा छविले बताउँदै आएका छन् । रेखा छविको व्यावसायिक सम्बन्ध कायमै छ । फिल्म नगरीमा यो जोडी चर्चामा आइरहन्छ ।
त्यस्तै रोमान्स किङको उपमा पाएका अभिनेता भुवन केसीको वैवाहिक जीवन भने रोमान्टिक हुन सकेन । भुवनको दुई वटै श्रीमतीसँग सम्बन्ध विच्छेद भयो । पहिलो श्रीमती विजया र अभिनेत्री समेत रहेकी सुस्मिता सेन वम्जनसँग भुवनको वैवाहिक जीवन अगाडी बढ्न सकेन । भुवन अहिले दुई वटै श्रीमती तर्फका सन्तानसँग छन् । रक्सी पिएर झगडा गर्ने बानी र पर स्त्रीसँग सम्बन्ध राख्ने कारणले भुवन श्रीमतीको प्यारो बन्न नसकेको फिल्मी बजारमा चर्चा नचलेको होइन ।
त्यस्तै अभिनेत्री संचिता लुइटेलले पहिलो श्रीमानसँग पारपाचुके गरेर अभिनेता निखिल उप्रेतीसँग बिहे गरिन् । निखिलले पहिलो पत्नी कोपिला उप्रेती साथमा हुँदै संचितालाई अपनाए । अहिले निखिल संचिताको एक छोरो र एक छोरी छन् । अभिनेत्री रञ्जना शर्मा र निर्देशक श्याम भट्टराई बिचको वैवाहिक सम्बन्ध पनि दिगो रहेन । टेलिफिल्म हुँदै फिचर फिल्ममा अवसर दिएका निर्देशक भट्टराई छोडेर रञ्जना अहिले अमेरिकामा छिन् । निर्देशक भट्टराई बेलाबेलामा फेसबुक मार्फत सम्बन्ध विच्छेदको पिडा पोखिरहन्छन् ।
अभिनेता शिव श्रेष्ठ पचास बर्ष प्लस भएपछि छोराको बाउ भने । उनको दोस्रो श्रीमतीले छोरालाई जन्म दिइन् । शिवको पहिलो विवाह गंगासँग भएको थियो । अभिनेता कृष्ण मल्लले पनि पहिलो श्रीमतीलाई पाखा लगाएर अभिनेत्री सर्मिला मल्ललाई भित्र्याए । म्यूजिक भिडियो मोडल तथा अध्याय फिल्मकी हिरोइन सिम्पल खनालको पनि निर्देशक प्रसन्न पौडेल सँगसम्बन्ध केही वर्ष मात्रै रह्यो । यो जोडी अहिले एक आपसमा छुट्टिएर बसेको छ । .jpg)
पूर्व मिस नेपाल एवम् अभिनेत्री झरना बज्रचार्यले केही वर्ष अगाडी विदेशी नागरिकसँग लगन गाँठो कसेकी थिइन् । तर, गाँठो केही वर्षमा फुत्कियो । झरना अहिले ध्यानमा व्यस्त छिन् । नेपाली रजतपटमा सफलता चुम्ने क्रममा रहेकी अभिनेत्री प्रियंका कार्की वैवाहिक जीवनमा भने असफल भइन् । अमेरिकामा इञ्जिनियर अध्ययन गरिरहेका नेपाली ठिटोसँग प्रियंकाको सम्बन्ध दिगो हुन सकेन ।
त्यस्तै पाश्र्व गायिका अञ्जु पन्तले पनि गायक तथा संगीतकार मनोजराज भण्डारीसँग सम्बन्ध विच्छेद गरिन् । एक छोरीलाई हुर्काइरहेकी अञ्जुले श्रीमानको खराब आचारणले सम्बन्धलाई विश्राम दिन बाध्य भएको हालैको एक मासिक पत्रिका खुलाएकी छिन् । मौसमी मल्ल, गौरी मल्ल, सृजना बस्नेत, सौजन्य सुब्बाको पनि बैबाहिक जीवन टिकेट । यी अभिनेत्रीहरुले एकल जीवन बिताइरहेका छन् ।
'सम्बन्ध एक अर्काको विश्वासले चल्छ । सम्बन्धमा लामो समयको प्रतिवद्धता आवश्यक पर्छ । चाहे त्यो विपरितसँग होस् या आफैसँग,' सम्बन्ध विच्छेद बारे मनोपरामर्शकर्ता करुणा कुँवर भन्छिन्- 'सम्बन्ध छुट्ने मुख्य कारण भनेकै एक अर्का प्रति विश्वास कम भएर हो । अर्को कुरा हाम्रो सँस्कृतिले पनि सम्बन्ध सुमधुर हुन सक्दैन । दम्पतीले बिहे पछि जीन्दगी यस्तो भैदियोस् भन्ने सोचेका हुन्छन् । जब हुँदैन उनीहरुले अलग हुने बाटो रोज्छन् ।'
सम्बन्धमा सञ्चार हुन आवश्यक छ । सञ्चारको अभावले पनि वैवाहिक जीवन सुमधुर हुन सक्दैन । कतिपयको जीवन उद्धेश्य हाँसिल गर्ने हिसाबबाट पनि सुरु भएको पाइन्छ । जब उद्धेश्य हाँसिल हुन्छ, त्यसपछि उनीहरु आफ्नो सम्बन्ध अगाडी बढाउन जरुरी ठान्दैनन्, अलग हुने निर्णय गर्छन् ।

