चलचित्र विकास वोर्डको वार्षिक बजेट सञ्चार मन्त्रालयबाट पास नभएपछि वोर्डले गर्ने कार्यक्रम तथा गोष्ठीहरु प्रभावित बनेका छन् । मन्त्रालयमा बजेट रोकिएकै कारण बोर्डले यस बर्षको चलचित्र दिवस मनाएन । दशैंमा गर्ने भनिएको राष्ट्रिय चलचित्र पुरस्कार पनि बजेटकै कारण रोकिन सक्ने विकास विकास वोर्ड स्रोत जानकारी गराउँछ ।
करिब ३ करोडको बार्षिक बजेटलाई मन्त्रालले विभिन्न शिर्षकमा कारण नखुलेको भन्दै पास गरेको छैन । बजेटकै कारण वोर्डको स्मारिका पनि प्रकाशनमा नआएको बताइन्छ । बजेट पास नभएपनि बोर्डले कर्मचारीहरूलाई तलब भने खुवाईरहेको छ । बोर्ड कर्मचारी भन्छन्- 'बजेट पास नहुँदा तलब खुवाउन पनि निकै गार्हो परेको छ ।'
त्यस्तै आज (असोज १० गते) मा विकास बोर्डमा बसेको बैठले विकास आचार्यको संयोजकत्वमा दोलखा फिल्म नगरी अध्ययन समिति गठन गरेको छ । समितिमा आचार्य सहित डा. विक्रम तामाङ, मदनदास श्रेष्ठ, इ. प्रदीप उपाध्यय, वन तथा भू.संरक्षण मन्त्रालयका प्रतिनिधि र रुद्र न्यौपाने छन् ।
दोलखाको लाकुरी भञ्ज्याङको वडा ८ र ९ मा पर्ने डाँङडुङे डाँडाको जग्गालाई नेपाल सरकारले फिल्म नगरी निर्माणको लागी स्विकृति दिएको छ । सरकारले फिल्म नगरी निर्माणको पञ्च बर्षिय योजना सहित २ करोड रकम निकाशा गरेको छ । फिल्म नगरी अध्ययन समिति सदस्यले २१ दिन भित्र विकास वोर्डलाई प्रारम्भिक दस्तावेज बुझाउनु पर्नेछ । यही दस्तावेजको आधारमा वोर्डले गुरु योजना तय गर्नेछ ।
बोर्डले दोलखाको जग्गालाई यो वर्ष (७० साल) भित्र भोगचलन गरी तारबार गरिसक्नु पर्नेछ ।

