Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म निर्देशनमा १० वटै औंला चलाएँ : गोविन्द राई

फिल्मीखबर, काठमाण्डौ, 2013/09/26

दुई दशक नृत्य निर्देशन बिताएका गोविन्द राईले नागवेली नामक फिल्म निर्देशन गरेका छन् । चालिस वर्ष माथिका निर्देशक राईको फिल्मले वर्तमान युवापुस्ताको कथा भन्छ । फिल्मको निर्देशनसँगै कथा परिकल्पना तथा कलाकार छनोटको काम निर्देशक राईकै छ ।

 

धरानमा जन्मिएका निर्देशक राईले फिल्मीखबर समक्ष जीवनका भोगाई तथा फिल्म निर्देशन गर्दाको अनुभव साटेका छन् । 'मलाई नृत्यले गोविन्द राई नाम दिएको । यदि म यो क्षेत्रमा हुन्नथें भने मेरो परिचय धरानको कान्छा राई मात्रै हुन्थ्यो,' उनले आफ्नो कर्मको उपलब्धीलाई नामसँग जोडे । दुई दशकमा कमाई चाहि के भयो त ? 'भौतिक साधन के कति जाडियो, त्यो आफ्नै ठाउँमा छ, तर मेरो सबै भन्दा अमुल्य कमाई भनेको सम्बन्ध र माया हो । म एक्लो छु तर मेरो सम्बन्ध लाखौसँग छ, सँगै लाखौंको माया पनि ।'

 

फिल्म निर्देशनमा चाहि किन २ दशक नै कुर्नुपर्यो ? उनको उत्तर छ- 'कुनै पनि क्षेत्रमा केही ज्ञान नभइकन हात हाल्नु राम्रो होइन । मलाई फिल्म बारे धेरै कुरा सिक्नु थियो । बीस वर्षको बिचमा फिल्मलाई चाहिने आवश्यक कुरा सिंके जस्तो लागेर निर्देशन हात हालें ।' नृत्य निर्देशन र फिल्म निर्देशन गर्नुमा फरक चाहि के रहेछ त ? एकल जीवन बिताइरहेका गोविन्दले गजबको उत्तर दिए- 'नृत्य निर्देशनमा मेरो एउटा मात्रै औंलो चल्थ्यो । दुई वटा आँखाले हेरे पुग्थ्यो । तर, फिल्म निर्देशनमा दश वटै औंला चलाउनु पर्ने रैछ । भित्री बाहिरी दुवै आँखा चलाउनु पर्ने ।'

 

'नृत्य निर्देशनमा म जहाजको सदस्य मात्रै थिएँ, फिल्म निर्देशनमा क्याप्टेन बनेको छु, गोबिन्दले भने- 'जिम्मेवारी ठुलो लिएको छु ।' जहाज सेफ ल्यान्ड हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ? उनी भन्छन्- 'यो दर्शक र मिडियाको हातमा छ । मैले जहाजलाई सेफ ल्यान्ड दिने कोशिस गरेको छु । मेरो कोशिस दर्शक र मिडियालाई कस्तो लाग्छ ? म भन्न सक्दिंन ।' अन्त्यमा निर्देशक राईले भन्छन्- 'मैले अहिले सम्म बनाएको सम्बन्धले मेरो फिल्मलाई प्लस गर्छ जस्तो लाग्छ । म भुइँमा नाचिरहंदा मिडियाले नलेखेको वा नबोलेको भए सायद आज म गोविन्द राई नहुन पनि सक्थें । मलाई आशा छ मैले निर्देशन गरेको फिल्मको बारेमा पनि मिडियामा लेखिनेछ ।'