नयाँ बानेश्वरस्थित अल्फा विटा हाउसमा एक महिना देखी चलिरहेको नेफ्टा अवार्डको डान्स रिहर्सल असोज ८ गते सकिएको छ । रिहर्सलको अन्तिम दिन डान्स गुरु कमल राई र गोविन्द राई दिन भरी नै व्यस्त रहे ।
तिहार पछि मलेसियामा हुने छैटौं नेफ्टा अवार्डमा अभिनेत्री करिश्मा मानन्धर, निरुता सिंह, झरना थापा, नन्दिता केसी, सौजन्य सुब्बा, केकी अधिकारी, शुष्मा कार्की, हर्षिका श्रेष्ठ, प्रियंका कार्की, अशिष्मा नकर्मी र प्राविधिकको प्रतिनिधित्व गर्दै निलिमा शर्माले नृत्य प्रस्तुत गर्दैछिन् । त्यस्तै अभिनेता तर्फ यशराज गराच, सविन श्रेष्ठ, गजित विष्ट, गौरव पहारी तथा सञ्चारकर्मीद्धय सुमन गैरे र विजय आवाजले पनि नृत्य प्रस्तुत गर्ने नेफ्टा प्रमुख मनोज केसीले जानकारी दिए ।
नेपाली फिल्मका कालखण्डमा चर्चित मानिएका गीतलाई नृत्यमा समावेश गरिएको नृत्य निर्देशक कमल राईले जानकारी दिए । यस वर्षको नेफ्टा अवार्डमा नृत्यले राम्रो प्रशंसा पाउने निर्देशक राई बताउँछन् । निर्देशक राई भन्छन्- 'हामीले नृत्यसँगै पहिरनमा पनि ध्यान पुर्याएका छौं ।' नेफ्टा अवार्डमा नाच्ने हिरोहरुको कोरम पुर्याउन भने आयोजकलाई हम्मे हम्मे पर्यो । अधिकांश हिरोहरु सुटिङमा व्यस्त भएपछि फुर्सदमा रहेका यशराज र सविन मात्रै देखिए पनि अन्त्यसम्म आइपुग्दा भने गजित र सञ्चारकर्मीद्धय गैरे र आवाज थप भए ।
नेफ्टा प्रमुख मनोज केसीले हिरोहरुको व्यस्तताले गर्दा नृत्यमा सहभागी गराउन नसकिएको बताए । अभिनेता आर्यन सिग्देल, जीवन लुइँटेललाई नाच्नको लागी खबर गरिए पनि व्यस्तताले गर्दा उनीहरु सहभागी हुन पाएनन् । नेफ्टा अवार्डमा राजेश पायल राई, हेमन्त राणा र मल्लिका कार्कीले आफ्नो साँगेतिक प्रस्तुती दिदैछन् । यससँगै नेफ्टामा केहि चर्चित व्यक्तिहरूलाई बिशेष रूपमा प्रस्तुत गर्ने बताईएको छ ।



.jpg)



