लामो समयदेखि रंगमञ्चमा सक्रिय रहेका रंगकर्मी बिरेन्द्र हमालको निर्देशनमा फिल्म 'सारङ्क'को छायांकन सोमबार साँझ देखि नेपालगञ्जमा शुरू भएको छ ।

नेपालगञ्जमा पत्रकार सम्मेलन गरी निर्देशक हमालले फिल्मको लगभग ९० प्रतिशत काम काठमाण्डौँ वरपर सकिएको जानकारी दिंदै 'सारङ्क'को आईटम गीत र केहि दृश्य आफ्नो जन्मथलो नेपालगञ्जमा गर्न लागेको जानकारी दिए । शुभम् फिल्मस प्रालिको पहिलो प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको बारेमा जानकारी दिंदै निर्देशक हमालले भने- 'सारङ्क'ले घटना बिशेष भन्दापनि बिषयवस्तुको गहिराईलाई उजागर गर्ने प्रयास गरेको छ ।'
.jpg)
हमालले आफ्ना बुवा लोकगायक स्वर्गीय महेन्द्र हमालको शब्द रहेको अवधी भाषाको 'चलो बाँके बजरिया...' वोलको गीतलाई आईटम गीतको रुपमा पस्कने बताए । आगामी मसिंर दोस्रो सातादेखि प्रर्दशन हुने बताईएको फिल्म 'सारङ्क'मा देशको राजनैतिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रबाट पीडित बनेका युवाहरूको मानसिक द्धन्दलाई कथानक बनाईएको छ ।

नेपालगञ्जकै सागर सिंह ठकुरीको सहायक निर्देशन रहेको फिल्म 'सारङ्क'मा निर्देशककै जन्मथलोकी सपना सिंह ठकुरीको साथमा निरञ्जन शर्मा, स्वर्ण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की र सन्दिप निरञ्जनको मुख्य भुमिका रहेको छ । फिल्ममा सागर सिंह ठकुरीको पटकथा तथा संवाद, बिष्णु बराईलीको छायाँकन, बीरेन शाक्यको संगीत, किरण दाहालको द्धन्दनिर्देशन तथा देबेन्द्र कुवँरको करियोग्राफी छ ।

