फिल्म हलहरू राजनीतिक दल तथा भातृ संगठनको कार्यक्रम गर्ने गतिलो थलो बन्दै गैरहेका छन् । बनेपा स्थित मयूर चलचित्र मन्दिर हलमा असोज ५ गते फिल्म चल्नुको साटो चुनाव बहिस्कार अभियानमा लागेको नेकपा माओवादी वैद्य पक्ष सम्बद्ध साँस्कृतिक फाँटको कार्यक्रम चल्यो ।
मयूर हलमा असोज ५ गते नेपाली फिल्म दुश्मनी हैन, माईला लामा नेतृत्व टोलीको सामाना साँस्कृतिक अभियान २०७० हेर्नेको घुइँचो थियो । यो घुइँचोमा कुनै पनि दर्शकले दुश्मनी फिल्मको सो किन चलेन ? जिज्ञासा राखेनन् । किन फिल्म नचलाएर हलमा राजनीतिक दलको कार्यक्रम चलाईयो ? हल म्यानेजर उद्धव बजगाइँले सहजै उत्तर दिए- 'हल भाडा उठाउन ।'
म्यानेजर बजगाइँका अनुसार हलले फिल्म सँगै राजनीतिक दल तथा विभिन्न संघ संस्थाका कार्यक्रम गर्दै आएको छ । हलमा किन फिल्मको सट्टा यस्ता कार्यक्रम चल्छन् ? म्यानेजर बजगाइँ भन्छन्- 'अहिले फिल्म चल्नै छाडे । यस्तै कार्यक्रमले हल भाडा उठाउने गरेका छौं ।' कार्यक्रमबाट उठेको रकम मध्ये पचास प्रतिशत हललाई छुट्याएर पचास प्रतिशत फिल्मका निर्मातालाई दिने गरेको उनले बताए ।

२०४६ सालबाट सञ्चालनमा आएको मयूर चलचित्र मन्दिर हलमा एकाध नेपाली फिल्म हेर्न मात्रै हलमा दर्शकको भिड देखिएको छ । सफल फिल्म कुन छ ? हल म्यानेजरले सम्झिएनन् । थप्छन्- 'एउटा फिल्मको दुई शोमा एघार सय पनि उठ्दैन । के फिल्म चलाउनु ? निरञ्तरताको लागी मात्रै हल खुला राखिएको हो ।' एक हजार दर्शक क्षमता भएको मयूर हल मात्रै हैन बनेपाको अर्को शुभकामना हलको हालत पनि यस्तै रहेको उनले सुनाए ।
हल किन बन्दको स्थितिमा पुगे त ? उनको अनुमान छ- 'टेलिभिजन, मोबाइल, सिडि, पेन ड्राइभ जस्ता प्रविधिले गर्दा दर्शक हल आउन छाडेका हुन् ।' तर, पछिल्लो समयका फिल्म हेरेर दर्शक पनि खुसी छैनन् । यसो भन्दैमा फिल्म चल्ने हलमा राजनीतिक दलको कार्यक्रम चलाउनु कति सम्म जायज होला ?

