मौन फिल्म हिन्दी फिल्म बर्फी अथवा कुनै पनि कोरियन फिल्मबाट प्रभावित नभएको कुरालाई कलाकारले पुन: दोहोर्याएका छन् । फिल्मको प्रोमोसनको लागि आज धरानमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा नायक अर्पण थापा र नायिका नम्रता श्रेष्ठले सो कुरा बताएका हुन् ।

अर्पण र नम्रता उपस्थित कार्यक्रममा फिल्मको अडियो लन्च गरिएको थियो । फिल्म नोभेम्बर रेनको छायांकनको लागि नम्रता धरानमै रहेको बेला सुन्तलीको छायांकनबाट फुर्सद निकालेर फिल्मको प्रचार प्रसार गर्न अर्पण धरान आएका थिए । हरेक फिल्ममा बेग्लै चरित्र निर्वाह गर्न आफुलाई रुचि लाग्ने बताउँदै अर्पणले मौनमा समेत बोल्न र सुन्न नसक्ने पात्रको रुपमा अभिनय गरेको बताए ।

स्क्रिप्ट लेख्दाको सोच अनुसारकै फिल्म निर्माण भएको र सम्पूर्ण टिमले उत्कृष्ट काम गरेको उनले जानकारी गराए । नम्रताले फिल्म पूर्ण रुपमा साइलेन्स नभएको बताउँदै फिल्मले समय र पैसाको सदुपयोग गराउने दाबी गरिन् । प्रि-प्रोडक्सन देखिनै मेहनत गरेको हुनाले फिल्म सफल हुनेमा आफु विश्वस्त रहेको नम्रताले बताईन् । कार्यक्रममा फिल्मको प्रोमो र गीत समेत देखाईएको थियो ।
.jpg)
सेन्सर बोर्डबाट 'यू' सर्टिफिकेट पाएको फिल्म असोज ११ अर्थात् आउँदो शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदै छ । सुरज भुषालले निर्देशन गरेको फिल्ममा अर्पण र नम्रताको साथमा शेखर चापागाई, बसन्त भट्ट, रश्मी, अरुणा कार्की, विजय बराल, दुर्गा बराईली आदि कलाकारको अभिनय छ । मौन क्वार्क फिल्म र आकाश आदित्य इन्टरटेनमेन्ट प्रालीको संयुक्त लगानीमा निर्माण भएको फिल्म हो । नविन गौलीको लगानी रहेको यो फिल्मलाई संजय लामाले खिचेका हुन् ।

