होम प्रोडक्सनको फिल्म तुलसी लिएर घिमिरे दम्पती दुई साता देखि क्यानडामा छ । गएको शनिबार क्यालगरी शहरमा तुलसी प्रदर्शन गरेका ऋचा र शंकरको माइन्ड केही दिन देखि भने फ्रेस छैन ।
सञ्चारमाध्यममा ढुकुटीमा पैसा डुबाएर घिमिरे दम्पती क्यानडा फरार भएको भन्ने समाचार प्रकाशित भएपछि उनीहरुको टाउको दुख्न शुरू भएको हो । चौध महिनाको छोरालाई साथमा लिएर क्यानडा गएकी ऋचाले ढुकुटीमा पैसा डुबाएर क्यानडा फरार भएको भन्ने आरोपलाई सिधै अस्विकार गरेकी छिन् । क्यानडाबाटै फिल्मीखबरलाई आरोपको खण्डन गर्दै ऋचाले भनिन्- 'मलाई बद्नाम गर्न नियोजित रुपमा झुठो समाचार प्रकाशन गरिएको हो । यदि कसैले मेरो तिर्नु छ भनेर आउँछ भने म त्यसको दोब्बर पैसा दिन तयार छु ।'
आयोजक संस्था एनआरएन क्यानडा र एनसीसीले तीजलाई अवसर पारेर क्यानडा आउन गरेको आग्रहलाई स्विकार गर्दै आफु सेप्टेम्वर ४ मा त्यहाँ पुगेको ऋचाले बताइन् । विगत दुई वर्ष देखि कुनै पनि कार्यक्रम तथा जमघटमा सहभागी नभएको जानकारी दिदै ऋचाले भनिन्- 'यदि मैले ढुकुटीमा पैसा ढुबाएको भए किन नेपालमा हुँदै त्यो समाचार छापिएन ? मेरो इर्ष्या गर्नेले नियतवश मेरो बद्नाम गर्न खोज्दैछन्, तर म झुठो आरोपबाट हतोत्साहित हुने छैन ।'
अभिनेत्री घिमिरेले फिल्म तुलसीलाई अमेरिकामा रहेका नेपाली दर्शकले हेर्न माग गरेको जानकारी दिइन् । क्यानडाको टोरन्टो, भ्याकुभर, ओटवा, एडमिन्टन लगायतका शहरमा प्रदर्शन हुन बाँकी तुलसीलाई अमेरिकाको न्यूयोर्क, वाल्टीमोर र क्यालिफोनिर्या शहरबाट प्रदर्शनको माग आएको उनले बताइन् । दुई दर्जन फिल्ममा अभिनय गरेकी ऋचाको फिल्मबारे प्रतिक्रिया छ- 'क्यानडाका दर्शकले तुलसीलाई मन पराउनुभयो ।' तीन महिना क्यानडा बसे पछि अमेरिकामा तुलसी प्रदर्शन गरेर नेपाल ब्याक हुने ऋचाले बताइन् ।
तुलसी फिल्म यसअघि युके, स्कटल्याण्ड, अष्ट्रेलिया, मकाउ र युरोपका अन्य केहि शहरमा प्रदर्शन भईसकेको छ ।

