Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

कलाकारलाई दलको टिकट : भोट बढाउने मेलो

फिल्मीखबर, काठमाण्डौ, 2013/09/20

देश अहिले संविधान सभाको चुनावी सरगर्मीमा छ । यो गर्मीको रापले फिल्मकर्मीलाई पनि राम्रैसँग पोलेको छ । भुवन केसी, रेखा थापा, रोज राणा जस्ता कलाकारहरु प्रत्यक्ष निर्वाचन लड्ने मनस्थितिमा छन् । राजनीतिक पार्टीले प्रत्यक्ष तर्फको चुनावी टिकट उपलब्ध गराउँलान् ? कलाकार पर्ख र हेरको स्थितिमा छन् ।

 

कलाकार यतिबेला नेतृत्व पङ्तीलाई भेट्ने देखि चुनावी मैदानमा आफु र आफ्नो पार्टीको प्रभाव कस्तो छ ? भनेर अवलोकन गरिरहेको स्थिति छ । भुवन, रेखा र रोज मध्ये कुनै एकले आउने संविधान सभाको चुनावमा फिल्म क्षेत्रको प्रतिनिधित्व गर्ने छाँटकाँट देखिन्छ ।

 

भुवनलाई नेकपा एमालेले काठमाण्डौ क्षेत्र नम्वर १ बाट अन्य दुई प्रतिस्पर्धीसँगै अध्यक्ष झलनाथ खनालले सिफारिसमा पारेका छन् । एमाओवादीको तर्फबाट पर्सा क्षेत्रबाट रेखा उठ्ने तयारी भैरहेको बुझिएको छ । गृह जिल्ला प्यूठान क्षेत्र नम्वर २ बाट काङग्रेस पार्टीले रोज सिफारिस गरेको छ । तर, राजनीतिक दलले कलाकारलाई किन चुनावी मैदानमा उतार्न चाहन्छन् ?

 

वरिष्ठ फिल्मकर्मी यादव खरेलको तर्क छ- 'जनता बिच कलाकारले बनाएको सम्बन्धबाट राजनीतिक दल भोट आफुतिर तान्न चाहन्छन् । एक किसिमले भन्ने हो भने राजनीतिक दलले कलाकारलाई सिमित स्वार्थको लागी प्रयोग गरिरहेका छन् ।' अर्का वरिष्ठ फिल्मकर्मी निर शाह भने कलाकारले चुनाव लड्नुलाई सकारात्मक पाटोबाट हेर्नुपर्ने भनाई राख्छन् । भन्छन्- 'जनता समक्ष कलाकारको आफ्नै प्रभाव छ । त्यो प्रभावलाई राजनीतिक दलले प्राथमिकता दिएका हुन् । यसलाई नकारात्मक रुपमा विश्लेषण गर्न जरुरी छैन ।'

 

राजनीतिक दलले कलाकारलाई 'शो पिस'का रुपमा प्रयोग गरेका उदाहरण दिंदै खरेल जोड दिन्छन्- 'दलले कुनै पनि कलाकारलाई उचित स्थान दिएको उदाहरण न्यून छ । पार्टीले साँस्कृतिक फाँट भनेर कलाकारको समिति खोलेपनि कुनैपनि पद कलाकारलाई दिइएको देखिंदैन ।' कम्युनिष्ट पार्टी माओवादीमा बर्षौं देखि लागेका रामेश र रायन अहिले सम्म जिम्मेवार पद विहिन छन् । यसले के देखाउँछ भने राजनीतिक दल कलाकारलाई देखाउने दाँतका रुपमा मात्रै लिएका छन् ।'

 

नेपाल मात्रै हैन, हलिउड तथा बलिउडका कलाकार पनि दल प्रवेश पश्चात जिम्मेवार पदमा नपुगेको लामै ईतिहास छ । हलिउड कलाकार आर्नोल्ड स्वार्जनेगर गर्भर सम्म बनेका थिए । उनी पुनः अभिनयमै फर्किए । बलिउडका राजबब्बर, राजेश खन्ना, अमिताभ बच्चन, जया बच्चन, गोविन्दा, शत्रुहन सिन्हा जस्ता कलाकार राजनीतिमा लागेपनि उनीहरु संसद भन्दा माथि पुग्न सकेनन्, पछि फिल्ममै फर्कन बाध्य भए ।

 

नेपाली फिल्ममा सक्रिय कलाकार राजनीतिमा लागेर वल्लो घर न पल्लो तिर नहोलान् भन्न सकिन्न । चर्चामा आएका कलाकारले निर्वाचन जितेर मन्त्री सम्म भए भने विश्वमा नयाँ उदाहरण हुनेछ ।