कर्कश फिल्मबाट अभिनेताको रूपमा डेब्यू गरेका चर्चित भिजे सुरज सिंह ठकुरीलाई जंगबहादुर राणाको चरित्रमा उतार्ने कसरत गरिएको छ । फिल्म निर्माण कम्पनी आईडियाज एण्ड इमेजेजले सुरजलाई 'जंगे' नामक फिल्मको शिर्ष भुमिकाका लागि कुरा गरिरहेको बताएको छ ।
बिहिबार साँझ राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै निर्माण कम्पनीले सुरज फिल्मको मुख्य भुमिकामा देखिने सम्भावना रहेको बतायो । विकास आचार्यको फिल्म 'फेरि नाइ नभन्नु ल'मा अभिनयका लागि तयार भएका सुरजले 'जंगे'को स्क्रिप्ट अध्ययन गरिरहेकाले अहिलेनै आफू फिल्म खेल्ने बारे केहि नबोल्ने बताए । 'हुन पनि सक्छ, नहुन पनि सक्छ,' सुरजले भने- 'स्क्रिप्ट मन पर्यो भने पक्कै फिल्म गर्ने छु । मेरो लागि यो फिल्मको भुमिका नै च्यालेञ्जिङ हुनेछ ।'
यसअघि अपवाद र कर्कश फिल्ममा लगानी गरेका छायाँकार सुसन प्रजापतीले 'जंगे'लाई पोल्टिकल थ्रीलर फिल्म भन्न रूचाए । राजनैतीक पृष्ठभुमिमा आधारित रहेर जंगबहादुरको चरित्रको पूर्ण बिश्लेषण 'जंगे'मा गरिने उनले बताए । 'जंगे साहस, दृढता र महत्वाकांक्षाको कथा हो,' निर्माता प्रजापतीले भने- 'जंगे हिजोको राजनैतिक अवस्थालाई वर्तमान दृष्टिगोचर गर्ने प्रयास हो ।'
अष्ट्रेलियामा फिल्म सम्बन्धि अध्ययन गरेका उत्कल थापाले निर्देशन गर्ने यो फिल्मको कथा निर्माता प्रजापतीले नै लेखेका हुन् भने छायाँकन पनि उनकै रहने छ । शान बस्न्यातको पटकथा तथा संवाद रहने यस फिल्मलाई उज्वल ढकालले सम्पादन गर्नेछन् । तिहार पछि सुटिङ शुरू हुने बताईएको यस फिल्मको कलाकार भने अडिसन पश्चात छानिने बताईएको छ । पूर्ण कमर्सियल फिल्म बनाउने तयारी गरेको आईडियाज एण्ड इमेजेजले आभाना प्रोडक्सनलाई आफ्नो व्यानर पार्टनर बनाउने छ ।


