पात्र नबोल्ने तर कथा बोल्ने फिल्म 'मौन'लाई नेपालको चलचित्र जाँचपास समिती (सेन्सर बोर्ड)ले सबै वर्गका दर्शकले हेर्ने मिल्ने गरेर युनिभर्सल सर्टिफिकेट दिएको छ । फिल्मका कुनै पनि दृश्य तथा संवादमा सेन्सर बोर्डले कैंची नचलाई राम्रो फिल्म भन्दै 'यू' सर्टिफिकेट दिएको निर्देशक सुरज भुषालले फिल्मीखबरलाई जानकारी गराए ।
शब्दमा प्रयोग हुँदै आएको प्रेमकथालाई मौन रूपमा प्रस्तुत गरिएको फिल्म 'मौन' यहि असोज ११ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ । मौन फिल्म बहिरा युवाको प्रेममा आधारित छ । मौन क्वार्क फिल्म र आकाश आदित्य इन्टरटेनमेन्ट प्रालीको संयुक्त लगानीमा निर्माण भएको फिल्म हो । फिल्मका मुख्य कलाकार अर्पण थापा र नम्रता श्रेष्ठ हुन् । मौनमा नविन गौलीको लगानी छ ।
मौनमा अर्पण र नम्रताको साथमा शेखर चापागाई, बसन्त भट्ट, रश्मी, अरुणा कार्की, विजय बराल, दुर्गा बराईली आदि कलाकारको अभिनय छ । यसै फिल्मका अभिनेता थापाको लेखन रहेको मौन फिल्ममा सुगम पोखरेल, सनुप पौडेल र स्वप्नील शर्माको संगीत छ । फिल्मलाई संजय लामाले खिचेका हुन् ।

