कलाकारले प्रचारमा दिएको साथले फिल्मको व्यापारमा कत्तिको असर पुर्याउला ? हलिउड र बलिउड फिल्मको प्रचारमा कलाकार नहिड्ने भने निर्माताले आधा व्यापार गुमाउनु पर्ने हुन्छ । बिडम्वना, नेपालमा दर्शकको संख्यालाई कलाकारको प्रचार सक्रियताले खासै प्रभाव पार्दैन ।
निर्माण कम्पनी र कलाकर बीच फिल्म रिलिज नहुँदासम्म साथ दिनुपर्ने भनी पेपर एग्रीमेन्ट गरिएको हुन्छ । तर, नेपाली कलाकार फिल्मको डविङ सकिएपछि पन्छिएको प्रशस्तै उदाहरण छन् । मौन फिल्म असोज ११ मा रिलिज हुँदैछ । सुरज भुषाल निर्देशित यो फिल्मको रिलिज अन्तिम समयमा आउँदा प्रचारमा कलाकारको साथ छैन । अभिनेता अर्पण थापा सुन्तली सुटिङका लागी बन्दीपुर छन् भने नम्रता श्रेष्ठ नोभेम्वर सुटिङका लागी धरानमा छिन् । फिल्मका दुवै कलाकार अन्य फिल्ममा व्यस्त भएपछि निर्माण युनिट तनावमा छ ।
त्यस्तै केही साता अघि पर्दामा महसुश फिल्म प्रदर्शनमा आयो । फिल्म प्रदर्शन भैरहँदा अभिनेता आर्यन सिग्देल मधुमास फिल्मको सुटिङमा व्यस्त थिए । कुमारी हलमा फिल्मको प्रिमियर चलिरहँदा आर्यन मधुमास सुटको लागी लुम्बिनीमा थिए । पब्लिसिटीको मामलामा उदार नदेखिनेमा अभिनेता राजेश हमाल पनि प्रमुख पात्र हुन् । उनी प्राय: फिल्मको न पब्लिसिटीमा हिंड्छन् न कुनै समारोहमा । उनलाई प्रचार प्रसारमा ल्याउन निर्माण युनिटले पापड नै पेल्नुपर्छ ।
.jpg)
होम प्रोडक्सनको फिल्ममा दिलो ज्यान दिएर लाग्ने अभिनेत्री रेखा थापा बाहिरी ब्यानरका एकाध फिल्म बाहेक अन्यको प्रचारमा भने बाल दिन्नन् । रेखा प्रमुख पात्र रहेको फिल्म वीर तीजको मौका पारेर प्रदर्शनमा आयो । रेखा वीरको औपचारिक कार्यक्रममा समेत उपस्थित भइनन् । आफु अभिनित फिल्मको प्रचारमा सहभागी नहुने कलाकारलाई के भन्ने ? गैर जिम्मेवारी पना या अह्म् ?
निर्माण युनिटले जो माथी लाखौं खर्चन्छ उही कलाकारले पब्लिसिटीमा बाल नदिंदा फिल्मको व्यापारमा र्हास आएको पनि बताईन्छ । कति निर्माताहरू त कलाकारले पब्ल्सिटीमा साथ नदिएरै आफ्नो फिल्म डब्बा भएको समेत बताउँदै आएका छन् । कति निर्माता तथा निर्देशकसँग त कलाकारको यहि बिषयमा झगडा समेत हुँदै आएको देख्न र सुन्न पाईन्छ । कुनै पनि किसिमको उदघाटनमा रिबन काट्न फुर्सद पाउने कलाकारले आफ्नै फिल्मको बारेमा बोल्न किन हिचकिचाउँछन् ?

