अन्तराल फिल्मकी अभिनेत्री नम्रता सापकोटालाई जन्मदिनको शुभकामना ! भोलीको एनसेल टुर व्यवस्थापनमा व्यस्त यी अभिनेत्रीले जन्मदिनको खास कार्यक्रम नरहेको बताइन् । उनले आफ्नो उमेर खुलाईन् । भनिन्- 'भर्खरै १८ पुगेकी छु ।'
भदौ देखि असोज ३ सम्मको बिचमा दर्जन भन्दा बढी सेलिव्रेटीले आफ्नो जन्मदिन मनाए । एक छोरीकी आमा अभिनेत्री अरुणिमा लम्सालले समकालिन हिरोइनसँग जन्मदिनको साँझ केक काटिन् । अभिनेत्री रेखा थापाले विगत दुई वर्ष सञ्चालित समाजिक संस्थालाई जन्मदिनमा सार्वजनिक गरिन् । निता ढुङ्गानाले काँडाघारीमा रहेको अनाथ आश्रमका बालबालिका माझ जन्मदिनको केक काट्दै भोजन गराइन् ।
जन्मदिनलाई सम्झने तरिका फरक भएपनि नेपालका सेलिब्रेटीमा जन्मदिनसँग जोडिएको एउटा प्रसंग भने समान रहेको पाइयो । विशेषगरी महिला कलाकारले आफ्नो जन्म वर्ष गोप्य राख्न चाहेको पाइयो । रेखाले ३० वर्ष टेकेको बताइन् तर अरुणिमा आफ्नो उमेर बारे खुल्न चाहिनन् ।
हाँस्य अभिनेत्री दिपाश्री निरौलाले गाईजात्रामा जन्मेको एक दिन अगावै मध्य वानेश्वरमा केक काट्दै भनिन्- 'मेरो उमेर स्विट १६ ।' अभिनेत्रीद्धय गरिमा पन्त र नन्दिता केसीसँग जन्मदिनमा उमेरको जिज्ञासा राख्दा उल्टै प्रश्न गरे- 'केटीको उमेर पनि सोध्छन र ?' अभिनेता भुवन केसी र दिलिप रायमाझी पनि आफ्नो वर्ष बारे गोप्य नै रहन चाहेको पाइयो । भुवनले सेप्टेम्वर १७ मात्रै सम्झिए । भर्खर ३० प्लसमा रहेको दिलिपले बताए ।
प्रौढ नै किन नहोस् ? जन्मदिनमा वर्ष नबताएर सेलिब्रेटीले आफुलाई टिनेजर्स देखाउन चाहे जस्तो झल्को पछिल्ला घटनाक्रमले दिएका छन् । जति नै लुकाए पनि शारीरिक अवस्थाले अनुमानित वर्ष कसो नबताउला र ?

