सुविधा सम्पन्न शहरमा बस्ने एक मानिस किन दुःखी हुन्छ र शारिरीक श्रममा व्यस्त हुने ग्रामिण भेगका मानिसले किन सुखको महसुस गर्छन् भन्ने भिन्नतलाई देखाउन खोजिएको फिल्म 'वनफूल'को पोस्टरसँगै अडियो गीत सार्वजनिक गरिएको छ ।
‘ठूला देशहरुले हाम्रा बहुमूल्य कच्चामाल कौडीको मोलमा किनेर तिनीहरुबाटे फ्याक्ट्रीमा निर्मित तयारी माल हामीलाई नै उच्च मूल्यमा बेचेर आर्थिक शोषण गरिरहेका छन् । आर्थिक उदारिकरणसंगै चोकचोकमा पाईने सस्ता मालसामानले हाम्रो परम्परागत पेशामा असर पुर्याएको छ, फिल्मका निर्देशक नवराज बुढाथोकी भन्छन्- 'यहि विश्वव्यापीकरणका कारण हाम्रो जस्तो अविकसित मुलुकमा ठुला राष्ट्रहरुबाट भएको सामाजिक र साँस्कृतिक अतिक्रमणलाई फिल्ममा देखाउने प्रयास गरिएको छ ।'
सन् २०१४ सालमा विश्वका फेस्टिभलहरूमा पठाउने तयारी गरिएको यो फिल्मले अल्पविकसित मुलुकका मध्यम र निम्न वर्गीय ग्रामिण र सहरी समाजमा पारेको प्रभावको कथा भन्ने छ । जीवनसाथी फिल्म्ससँग शैली थिएटरले सहकार्य गरेर निर्माण गरेको यस फिल्ममा सुनिल पोखरेलले मुख्य भुमिका निर्वाह गरेका छन् । फिल्ममा सुनिलको साथमा महेश श्रेष्ठ, मञ्जु देवकोटा, मदन बराल, समन्त आचार्य, अशोक शिवाकोटी, वासुदेव खनाल, मञ्जु गिरी, केदार श्रेष्ठ, विभु पौडेल, सुशिला रिमाल लगायतले अभिनय गरेका छन् ।

सामुदायिक विद्यालय कमल प्राविको पुस्तकालय व्यवस्थापन तथा विस्तारको सहयोगार्थका लागि यहि असोज २१ गते राजधानीको रसियन कल्चर सेन्टरमा वनफूलको बिशेष प्रदर्शन गरिंदै छ । 'हामीले हलमा भन्दा पनि यस्तै सामाजिक कार्यको लागि फिल्मको प्रदर्शन गर्नेछौं,' निर्माता जीवनसाथी बस्नेतले भने- 'समाजसेवाको साथमा यो फिल्मले विश्वका थुप्रै फिल्म फेस्टिभलको ढोका ढकढकाउने छ भन्ने हाम्रो विश्वास छ ।'
मदन बराल र बीबी बस्नेत निर्माता रहेको वनफूलमा निर्देशक बुढथोकीको पटकथा तथा संवाद, राजिव मानन्धरको छायाँकन, चन्दन दत्तको सम्पादन तथा ग्राफिक्स र महेश पौड्यालको कथा रहेको छ । फिल्मको प्रस्तुत सार्वजनिक गीतमा महेश पौड्यालको शब्द, देवेन्द्र राईको संगीत र राजेश पायल राई र सन्तोष लामाको स्वर रहेको छ । जीवनसाथी फिल्मले यसअघि निर्माण गरेको फिल्म 'अन्तराल'लाई पनि केहि अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा पुर्याउने कसरत गरिएको छ ।

