गएको पाँच महिनामा (०७० बैशाख देखि भदौ सम्म) ५२ फिल्म प्रदर्शनमा आए । यी मध्ये कति फिल्मले उत्साहको व्यापार गरे होलान् ? वितरक तथा फिल्मसँग सम्बद्ध व्यक्तिले दिएको जानकारीलाई आधार मान्ने हो भने ५ महिनामा जम्मा ५ फिल्मले सन्तोषजनकको व्यापार गरेका छन् ।
भाग्यमानी पाँच फिल्म हुन्, हमेशा, नोटवुक, कर्कश, महसुश र प्रदर्शनरत फिल्म होस्टेल । यी फिल्मले प्रदर्शन भएका पर्दाबाट झन्डै एक-एक करोड व्यापार गरेको रिपोर्ट छ । चलचित्र संघका महासचिव प्रदीप उदय पाँच फिल्मको व्यापार बारे भन्छन्- 'यी फिल्मले लगानी उठाए उठाएनन्, त्यो आफ्नो ठाउँमा छ । तर, यी फिल्मले नेपाली फिल्म हेर्ने दर्शक छन् भन्ने पुष्टी गरेका छन् ।'
रेखा थापा स्टार फिल्म हमेशाबाट निर्माता छविराज ओझाले लगानी नडुबाए पनि नाफा हात पारेनन् । नोटवुकको लगानी उच्च भएका कारण प्रज्ञा जोशी घाटामा गईन् भने कर्कशका निर्माता नाफा कमाउनेमा काउन्ट भए । कल्याण घिमिरेको महसुशले लगानी उठाएन तर, दर्शकको प्रतिक्रिया राम्रो रह्यो । फिल्म होस्टेल तेस्रो हप्तामा देशका पर्दामा प्रदर्शनरत छ । हेमराज विसी निर्देशित फिल्मले लगानी रिकभर गर्ने विश्वास छ ।
यी सँगै फिल्म किन किन र बधशाला व्यापारिक रुपमा मध्यम रह्यो, लगानी उठाउन सकेन । बाँकी फिल्महरूले भने निर्माताको पसिना निकाले । चर्चामा रहेर पनि असफल फिल्मको श्रेणीमा अन्तराल, साँघुरो, मञ्जरी, उमा लगायत पर्छन् । अर्को चर्चामा रहेको फिल्म ढुवानी र राजनीति प्रदर्शन रहेपनि लगानी सुरक्षित गर्ने सम्भावना न्यून देखिएको छ ।

