फिल्म अधकट्टी युनिट गौरव पहारी र विल्सन विक्रम राईको पर्खाइमा छ । फिल्मका मुख्य यी दुई पात्र अन्य प्रोजेक्टमा व्यस्त भएपछि अधकट्टीको सुटिङ प्रारम्भ हुन सकेको छैन ।
मञ्जरी डेव्यु गौरव यतिबेला फिल्म उत्सवको सुटिङमा व्यस्त छन् भने राजकुमार राईको वान वेको सुटिङमा विल्सन । अधकट्टी डेव्यु निर्देशक सुव्रत आचार्यले फिल्मको केही भाग दशैं अगाडी नै सुटिङ हुने बताए । सञ्चारकर्मी निर्देशक आचार्यले भने- 'गौरव र विल्सन खाली भए लगत्तै फिल्मको सुटिङ सुरु हुनेछ ।'
प्रदीप कुमार उदयले निर्माण गर्न लागेको कमेडी फिल्ममा गौरव र विल्सनको साथमा संगीतकार प्रदिप बाँस्तोला मुख्य भुमिकामा छन् । महिला क्यारेक्टर भने निर्माण युनिटले सार्वजनिक गरेको छैन । विजय अधिकारीको लेखन रहेको अधकट्टीमा मदन कास्यप घिमिरेको क्यामेरा छ । राजन इशान यसका संगीतकार हुन् । गीत रचना रञ्जित आचार्यको छ ।

