यहि असोज ४ गतेबाट देशब्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्राण भन्दा प्यारो’को निर्माण युनिटले सोमवार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ । फिल्मको बारेमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।

पञ्च परमेश्वर फिल्म प्रस्तुतीमा नारी माथी भइरहेको अपराधको कथावस्तुमा आधारित यो फिल्मलाई कमलकृष्णले निर्देशन गरेका हुन् । फिल्ममा बाशु पुडासैनी, अनामिका चौलागाईँ, कमलकृष्ण, बिष्णु सापकोटा, सन्दिप बगाले, गणेश बगाले, दिपेन्द्र कुमार श्रेष्ठ, आशा खड्का लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मबाट नै बाशु र अनामिकाले नेपाली रजतपटमा डेब्यू गरेका हुन् ।
आफुले सबैभन्दा बढि माया गरेको श्रीमानबाट नै श्रीमतीले कसरी लुटिनु र शोषित हुनुपर्छ ? र, त्यसको जटिल घडीमा एउटी भर्खर किशोरावस्था पार गरेर बिवाह गरेकी नारीले कसरी प्रतिशोध लिन सक्छिन् ? भन्ने बिषय नै ‘प्राण भन्दा प्यारो’को कथा बनाईएको निर्देशक कमलकृष्णले जानकारी दिए ।

निर्देशक कमलकृष्णको परिकल्पना तथा गणेश बगालेको कथामा तयार भएको यो फिल्मलाई मुकेश हुमागाईँले खिचेका छन् । गीतकार गणेश बगाले, धर्मेन्द्र मौरवैतासँगै अमितेश पौड्यालले लेखेको तथा कमलकृष्ण स्वयंमको संगीत रहेको फिल्मका गीतहरुमा मनिषा पोखरेल र राकेश खालिङको स्वर रहेको छ । राजेश शाहले सम्पादन गरेको ‘प्राण भन्दा प्यारो’मा द्वन्द्व भने चन्द्र पन्तको रहेको छ ।

