शशस्त्र द्धन्द्धको समयमा जेलका कैदीले पाएका चरम यातनालाई फिल्म बधशालामा उतारेका निर्देशक मनोज पण्डितले अब भने मधेशमा रहेको हतियार र व्यक्तिको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने फिल्म निर्देशन गर्ने भएका छन् ।
निर्देशक पण्डितले जारी गरेको प्रेस विज्ञाप्तीमा फिल्मको 'तमन्चा' नामाकरण गरिएको छ । यसको शाब्दिक अर्थ पेस्तोल हो । सुरक्षा र हतियार बिचको द्धन्द्वात्मक सम्बन्ध र यो सम्बन्ध भित्रको विभिन्न घटनाक्रम फिल्मको मुख्य प्लट रहेको निर्देशक पण्डित बताउँछन् । फिल्मको मुख्य नारी पात्र अभिनेत्री शोभिता सिंमखडा रहने छिन् । यस पात्रले संघर्ष, शक्ति र उत्पन्न मनोविज्ञान तथा आइपर्ने विभिन्न चुनौतीलाई सामना गर्नेछ ।
'मेरो पछिल्ला फिल्ममा जस्ता यस फिल्ममा कुनै गम्भिर राजनीतिक मुद्दा रहने छैन । र, कुनै विशेष मुद्दा उठाउने प्रयत्न पनि गरिएको छैन,' निर्देशक पण्डितको प्रेस विज्ञाप्तीमा उल्लेख छन्- 'यस फिल्ममा कथालाई शशक्त ढंगले प्रस्तुत गर्नु नै मेरो एक मात्र उद्धेश्य रहनेछ ।' तमन्चामा तीन वटा गीत र नृत्य रहनेछन् । जसमा एउटा गीत रेकर्डिङको अन्तिम चरणमा पुगेको प्रेस रिलिजमा उल्लेख छ ।
फिल्ममा अभिनेत्री सिंखडाको साथमा राजन खतिवडा, टिका पहाडी र प्रमोद अग्रहरीको मुख्य अभिनय रहनेछ । स्क्रिप्ट फ्याक्ट्री नेपालको निर्माण रहने फिल्ममा निर्देशक पण्डितकै लेखन छ । यही वर्षको मंसिर महिना देखी नवलपरासी जिल्लाबाट फिल्मको छायाँकन प्रारम्भ हुनेछ । फागुनको दोस्रो हप्तामा फिल्म रिलिज हुने प्रेस विज्ञप्तीमा उल्लेख छ ।

