Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेत्री अधिकारी युरोपमा पनि सक्रिय, निर्देशक रेग्मीलाई ८० हजार सहयोग

मणिराज गौतम, बेल्जियम, 2013/09/16

करिब तीन दर्जन सानो पर्दाको फिल्म र एक दर्जन भन्दा बढी ठूलो पर्दाको फिल्ममा अभिनय गरेकी अभिनेत्री पार्वती अधिकारी यतिबेला युरोपियन मुलुकमा बसेर कलाकारितालाई निरन्तरता दिईरहेकी छिन् ।


सानो पर्दाको फिल्म त्यागमा प्रमुख भुमिका अभिनयसँगै हिजो आजका कुरा, आफ्नै कथा, मुटुको ब्यथा लगायतका सानो पर्दाको फिल्मले परिचित बनाएपछि अभिनेत्री अधिकारी ठूलो पर्दामा प्रबेश गरिन् । नेपाली फिल्म सन्तानबाट फिल्म क्षेत्रमा प्रबेश गरेकी अभिनेत्री पार्बती यतिबेला युरोपको बेल्जियममा कलाकारितालाई नै निरन्तरता दिने प्रयासमा छिन् ।

 

 

बि.सं. २०४४ सालमा राष्ट्रिय नाचघरमा अभिनय सम्बन्धी प्रशिक्षण लिएर निरन्तर कला क्षेत्रमा लागी परेकी अधिकारीले फेरि भेटौंला, भूमरी, कस्तुरी, बहादुर, सोल्टीनी, सिउँदो लगायतका फिल्महरुमा अभिनय गरिन् । फिल्म फेरि भेटौंलामा नायिका मनिषा कोईरालासँगै प्रमुख पात्रको भुमिकामा देखिएकी अधिकारी आफूलाई चिनाउने फिल्म पनि यही भएको बताउँछिन् ।

 

फिल्म सिउँदोमा नायक राजेश हमालको दिदीको भुमिकामा आएपछि उनले थप लोकप्रियता कमाउन सफल भएकी थिईन् । चरित्र अभिनेत्रीको एवार्ड पनि यही सिउँदोले दिलाईदियो अधिकारीलाई । नेपालमा बसेर अभिनय क्षेत्रमा जति क्रियाशिल भएपनि जीवन गुजारो गर्न समस्या भएपछि उनी आज भन्दा १४ बर्ष अगाडी युरोप छिरिन् । अहिले युरो नेपाल कलाकार संघमा आवद्ध भएर अभिनेत्री अधिकारीले युरोपमा बिभिन्न साँस्कृतिक कार्यक्रममा सक्रियता बढाईरहेकी छिन् । लामो समय नेपाली फिल्म क्षेत्रमा बिताएकी अधिकारीले यसै क्षेत्रमा नेपालमा बसेर काम गर्न अरुलाई प्रेरणा दिने काम गरिरहेकी छिन् ।

 


नेपाल बस्दा फिल्म क्षेत्रको काम गराईलाई युरोपमा बसेर पलपलमा सम्झिरहने अभिनेत्री अधिकारी तीन बर्ष पछि नेपाल गएर पुन: यो क्षेत्रमा सक्रिय हुने चाहना रहेको बताउँछिन् । उनले भनिन्- 'मलाई यो ठाउँसम्म पुर्‍याउने नेपाली कला क्षेत्र हो ।' कला क्षेत्रमा लागेका सबैले समाजमा उदाहरणिय काम गर्न सकेको भन्दै समाजमा सधै सकारात्मक सोचका साथ अगाडि बढ्न नयाँ पुस्तालाई आग्रह गर्दै एसेन्टा अन्तराष्ट्रिय ट्रेड फेयरमा नृत्य गर्न चिटिक्क सजिएकी अधिकारीले भनिन्- 'म कलालाई सम्मान गर्छु ।'

 

निर्देशक रेग्मीलाई ८० हजार सहयोग


बरिष्ठ निर्देशक शिब रेग्मीको मृगौला प्रत्यारोपणका लागि युरोपमा रहेका नेपाली कलाकारहरुले पनि सहयोग गर्ने भएका छन् । युरो नेपाल कलाकार संघ बेल्जियमबाट निर्देशक रेग्मीको मृगौला प्रत्यारोपणका लागि सहयोग गर्न लागिएको हो ।


अभिनेत्री पार्वती अधिकारीको संयोजनमा चितवन सहायता कोष र बेल्जियमबासी नेपालीहरुले ८० हजार रुपैयाँ सहयोग गर्न लागेको हो । कोषका तर्फबाट ५० हजार रुपैयाँ र युरो नेपाल कलाकार संघ बेल्जियमबाट ३० हजार रुपैयाँ संकलन गरिएको अभिनेत्री अधिकारीले बताईन् । निर्देशक रेग्मी यतिबेला दुवै मृगौलाले काम नगरेको अवस्थामा उपचारार्थ छन् । निर्देशकको स्वास्थ्य उपचारमा सहयोग गर्न बेल्जियमबासी नेपालीहरुले प्रयास गरेको एनआरएन सहदेव गौतमले बताए ।