Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मेरो कथा`को रकम क्यान्सर पीडितलाई

फिल्मीखबर, भरतपुर, 2013/09/16

सुदुरपश्चिमको बादी समूदायको वास्तविक कथामा आधारित नेपाली फिल्म 'मेरो कथा'को बिशेष प्रदर्शनबाट संकलित रकम मध्ये ५० हजार रूपैंया क्यान्सर अस्पताल भरतपुरमा उपचारार्थ बालबालिकाहरुको सहयोगका लागि क्यान्सर सेवा समाजलाई हस्तान्तरण गरिएको छ ।

 


फिल्मका निर्माता रबीन्द्र बरालले सो रकम क्यान्सर सेवा समाजका अध्यक्ष श्यामप्रसाद लामिछानेलाई हस्तान्तरण गरे । क्यान्सर पीडित बालबालिकाहरुले खर्चको अभावमा उपचार पाउन नसकेका कारण आफ्नो फिल्मको बिशेष प्रदर्शन मार्फत संकलित रकम हस्तान्तरण गरिएको बरालले बताए । भिजन नेपाल ईन्टरटेन्मेन्टले निर्माण गरेको  फिल्म'मेरो कथा'को प्रदर्शन भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गरिएको थियो । बिशेष प्रदर्शनमा फिल्मका कलाकारहरु आयुष रिजाल, अशोक धिताल, गंगा बस्याल, निर्देशक देव नेपाल, संगीतकार बीबी अनुरागीलगायतको उपस्थिति रहेको थियो ।

 

यसअघि सोही फिल्मको काठमाण्डौंमा गरिएको बिशेष प्रदर्शनका क्रममा संकलित २० हजार रूपैंया मेडिकल कलेज जोरपाटीमा हेमोडाइलोसिसको उपचारका लागि प्रदान गरिएको थियो भने भरतपुर–१४ तोरीखेत स्थित प्रस्तावित राष्ट्रिय माविको सहयोगका लागि गरिएको च्यारीटीमा संकलित २५ हजार रूपैंया पनि यसअघि नै हस्तान्तरण गरिएको छ । त्यसैगरी अखिल नेपाल महिला संघ मकवानपुरले महिला हिंसा बिरुद्धको अभियान अन्तर्गत सोहि फिल्म हेटौंडामा प्रदर्शन गरेको थियो ।

 


नेपाली समाजमा अझै पनि बाध्यात्मक रुपमा यौन पेशामा लाग्ने अवस्था व्याप्त रहेको भन्दै फिल्मका निर्देशक देव नेपालले यस्ता विकृतिहरु अन्त्य गर्न फिल्म 'मेरो कथा'ले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । फिल्मको ६० प्रतिशत छायांकन कञ्चनपुर र कैलालीमा रहेका बादी समुदायकै बस्तीमा पुगेर गरिएको हुनाले कलाकारले बोल्ने भाषा पनि ठेट पश्चिमेली रहेको छ । फिल्ममा आयुश रिजाल, पुजना स्त्री, नन्दा बस्याल, अशोक धिताल, डम्बर उपाध्याय, घनश्याम रोस्यारालगायतको अभिनय छ ।