Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.71/5.00)
Text size:-
+
-

धरानमा आर्यन र नम्रताको `नोभेम्बर रेन` शुरू

अर्पण ढकाल, धरान, 2013/09/15

अभिनेता आर्यन सिग्देलले निर्माण गर्न लागेको पहिलो फिल्म 'नोभेम्बर रेन'को औपचारिक रुपमा आज आईतबारबाट धरानमा छायांकन शुरू भएको छ । धरान विजयपुर स्थित बुढासुब्बा मन्दिरमा मुहुर्त गरेर फिल्मको छायांकन शुरू गरिएको हो । 

 

फिल्मको मुहुर्त कार्यक्रममा धरानका विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । फिल्मको मुहुर्त शट अभिनेत्री नम्रता श्रेष्ठले दिएकी थिईन् । मुहुर्त कार्यक्रममा बोल्दै अभिनेत्री श्रेष्ठले आफु जन्मेको ठाउँमा आएर अभिनय गर्न पाउँदा खुसी लागेको बताईन् । अभिनेता सिग्देलले आफूले अहिलेसम्म सिकेको ज्ञान र अनुभव यस फिल्ममा प्रयोग गरेर दर्शकको रूची अनुसारको फिल्म बनाउने बताए ।

 

 

यस्तै आइ एम सरी डेब्यू निर्देशक दिनेश राउतले पनि आफूले सक्दो मेहनत गरेर राम्रो फिल्म बनाउने बताए । यसअघि आर्यन र केकी अधिकारीलाई फिल्ममा उतारेका दिनेशले यसपटक आर्यन र नम्रतालाई पर्दामा उतार्दै छन् । मेरो एउटा साथी छ फिल्ममा आर्यन र नम्रताले पाएको क्रेजलाई दिनेशले मर्न नदिने समेत बताए । कार्यक्रममा यसै फिल्म मार्फत डेब्यु गर्न लागेकी छुल्ठिम डोल्मा गुरुङले पहिलो फिल्मबाट नै दर्शकको नजरमा बस्ने हिसाबले काम गर्ने बताइन् ।

 


 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी टेक बहादुर तामाङ, पूर्वाञ्चल पर्यटन विकास परिषदका तर्फ़बाट महेन्द्र प्रधान एवं पर्यटन व्यवसायी बासुदेव बरालले फिल्मको सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए । धरानको समग्र पर्यटनको विकासमा यो फिल्मले ठुलो भूमिका खेल्ने बताउदै फिल्मको छायांकन अवधिभर जस्तो सुकै सहयोग गर्ने प्रतिबद्धता समेत उनीहरुले व्यक्त गरेका थिए ।

 

 

फिल्मको २० दिनको छायांकनको सेड्यूल धरानमा हुने छ । फिल्मको पहिलो दिनको छायांकन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हात भित्र भएको छ, जहाँ फिल्मको ४० प्रतिशत छायांकन हुने छ । आर्यन सिग्देल इन्टरटेन्मेन्टको प्रस्तुतीमा सुवास इन्टरटेन्मेन्टले यो फिल्मको निर्माण गर्न लागेको हो । यसअघि ‘हो यही माया हो’ नामक फिल्म निर्माण गरेका सुवास गिरीले ‘नोभेम्बर रेन’मा लगानी गर्दैछन् ।

 

 

राजेश श्रेष्ठको क्यामेरा र तारा प्रकाश लिम्वुको संगीत रहेको यस फिल्मका अन्य कलाकारहरुमा केशब भट्टराई, हिउँवाला गौतम, अमितेश शाह, शिशिर राणा, अल्पना कर्मचार्य, महेश त्रिपाठी, अर्जुन खड्का, राजु लामा रहेका छन् । छेतन गुरुङको रोमान्टिक कथा रहेको ‘नोभेम्बर रेन’ प्रदर्शन मिति फेब्रुअरी १४ अर्थात भ्यालेनटाइन डे तोकिएको छ ।