सेप्टेम्बर २७ देखि २९ गते सम्म छोटा फिल्मको पर्व एकादेशमा शुरू हुँदैछ । ३ दिन सम्म चल्ने एकादेशमा सर्ट फिल्म फेस्टिभलमा ३० वटा छोटा फिल्मलाई देखाइनेछ ।

क्युएफएक्स कुमारी हलबाट शुरू हुने फिल्म पर्व सर्वनाम थिएटरमा पुगेर समापन हुनेछ । म्यानहटन सहित विभिन्न फिल्म फेस्टिभलमा सेलेक्ट भएका छोटा फिल्मलाई फेस्टिभलमा देखाइने छ । एकादेशमा फिल्म फेस्टिभल बारे जानकारी गराउन आयोजक अन्डरग्राउन्ड टाकिजले मण्डला नाटकघरमा एक प्रेस समारोहको आयोजना गरेको थियो ।

समारोहमा बोल्दै फेस्टिभल अध्यक्ष सोहम ढकालले भने- 'फेस्टिभललाई हामीले फिचर फिल्म निर्माणमा सहयोग पुर्याउने अवसरका रुपमा लिएका छौं ।' साथमा उनले गत बर्ष एकादेशमा फेस्टिभलमा सहभागी दर्शक एवम् फिल्मकर्मीबाट पाएको उत्साह र प्रेरणाले गर्दा दोस्रो वर्षको कार्यक्रम आयोजना गर्न लागिएको समेत बताए ।

कार्यक्रममा सम्बन्धित नेपाली सर्ट फिल्मका कलाकारलाई परिचय गराउनुको साथै केही फिल्मका प्रोमो समेत देखाइएको थियो । एकादेशमा फिल्म फेस्टिभलमा फुलको माला अर्न्तगत १२ वटा छोटा नेपाली फिल्म, हिराको माला अर्न्तगत १० वटा पानारोमा वर्ल्ड सर्ट फिल्म र सुनको माला अर्न्तगत ८ वटा विद्यार्थीले निर्माण गरेको फिल्म देखाइनेछ । साथमा फिल्म, सहित्य र कलासँग सम्बन्धित सर्जकसँग नेपाली फिल्मको भविष्य बारे छलफल समेत चलाईनेछ ।


