जब फस्ट लभ फिल्मले बम्परको व्यापार गर्यो, मिसन पैसा डेब्यू अभिनेत्री निशा अधिकारीको फिल्मी नगरीमा राम्रै चर्चा चल्यो । फस्ट लभ हिट हुनुको क्रेडिट निशाले पनि पाईन् । त्यतिबेला निशाको टक्कर सिधै अभिनेत्री रेखासँग भएको विश्लेषण गरियो । निशाले समेत मिडियामा अप्रत्यक्ष रुपमा आफ्नो फिल्मी लडाइँ रेखासँग भएको संकेत दिएकी थिइन् ।
शुरूमा निशा फिल्ममा निकै नै व्यस्त रहिन् । मोडलिङ हुँदै अभिनयमा छिरेकी निशाका नैना रेशम, अपवाद, पल, पदमिनी, सुनगाभा, धुवाँ यो नशा जस्ता फिल्म प्रदर्शनमा आए । विडम्वना, यी फिल्मले फस्ट लभ हिरोइनलाई कुनै राहत दिएनन् । फिल्म व्यापारिक रुपमा फल्प नै बने । निशा केन्द्रित फिल्म मायाज बारले इनिसियलको व्यापार गरेपनि निर्माता लगानी सुरक्षित असफल भए ।
असफल फिल्मको यात्रा गरिरहेकी अभिनेत्री अधिकाका लागी अभिनेत्रीद्धय प्रियंका कार्की र नम्रता श्रेष्ठ खतरा रहेको फिल्मी बजारमा चर्चा छ । थ्रि लभर्स डेब्यू प्रियंका र सानो संसारकी नम्रता वर्तमान फिल्म बजारमा निशा भन्दा निकै व्यस्त छन् । प्रियंका र नम्रताको व्यस्ततामा निशा भने रेष्ट मुडमा छिन् । नवल खड्काको भिमदत्त बाहेक निशाले पछिल्लो पटक कुनै पनि फिल्ममा काम गरेको देखिएको छैन ।
निशा अभिनित मिसन पैसा रिलोडेड मात्रै प्रदर्शनको पर्खाइमा छ । निशा फिल्मको सुटिङ छाडेर सगरमाथा चढ्न गईन् । सफल सगरमाथाको आरोहण पछि उनी बधाईको पात्र बनिरहेकी छिन् । निशा भन्दा पछि फिल्म करिअर सुरु गरेकी प्रियंका अभिनित फिल्म 'झोले' र 'आवरण' प्रदर्शनको पखाईमा छन् भने अहिले 'सुन्तली'को लागि सुटिङमा व्यस्त छिन् । अमेरिका ब्याक प्रियंका विकास आचार्यको सिक्वेल फिल्म 'फेरी नाइ नभन्नु ल'मा अनुबन्धित भैसकेकी छिन् ।
प्राप्त जाकारी अनुसार प्रियंकासँग अन्य निर्माताले सुटिङको समय मागिरहेका छन् । तर, प्रियंका अभिनित फिल्म पनि व्यापारिक रुपमा हिट भने छैनन् । यद्पी उनको अभिनय क्षमता र मिलनसार व्यवहारले निर्माता, निर्देशक प्रियंकासँग काम गर्न लालयित छन् । प्रियंकासँगै अभिनेत्री नम्रता श्रेष्ठ पनि अहिले व्यस्त छिन् । मौन र मेघा फिल्म रिलिजको पर्खाईमा रहेकी नम्रता हाल अभिनेता आर्यन सिग्देलको फिल्म नोभेम्वर रेनमा व्यस्त छिन् । अन्य निर्माता निर्देशक नम्रताको सौदर्य र अभिनय क्षमतालाई पर्दामा उतार्न चाहन्छन् ।
निशाको अभिनय क्षमता कमजोर हैन तर पछिल्ला समय सञ्चारमाध्यसँगको बिबादमा पर्नुले पनि निशाको खोजी कम भएको हो कि भन्ने प्रश्न पनि उठ्ने गरेको छ । प्रियंका र नम्रतालाई पन्छाएर सञ्चारमाध्यमसँग बलियो सम्बन्ध स्थापित गर्दै अभिनयमा अगाडी बढ्न निशालाई सहज होला ? अभिनेत्री अधिकारी के सोच्दै छिन् ?

