नेपाल आयुर्वेदिक जडिबुटीको खानी नै मानिन्छ । संसारका थुप्रै मुलुकमा औषधीको लागि नेपालको जडिबुडी निर्यात गरिन्छ । थुप्रै मुलुककले जडिबुटीका लागि नेपाल माथि आँखा गाडिरहेका छन् । यहि आयुर्वेदिक जडिबुडीमा आधारित रहेर फिल्म 'वार' निर्माण गरिएको छ ।
फिल्मले नेपालको सम्पत्ती नेपालमा नै उपयोग हुनुपर्छ भन्ने धारणा राखेको छ । फिल्मका निर्देशक मुकुन्द भट्टले यहि आयुर्वेदिक जडिबुटीको बारेमा बिदेशी मुलुकसँग नेपालको द्धन्दलाई काल्पनिक रूपमा प्रस्तुत गरेको बताए । कार्तिक ८ गते रिलिज मिति तोकिएको फिल्म ‘वार’को प्रोमो सार्वजनिक गरिएको छ ।
सार्वजनिक प्रोमोमा आयुर्वेदिक पुस्तकलाई नै मुख्य केन्द्रमा राखिएको छ । फिल्मको थप बिषय सस्पेन्स नै राख्न खोजेका निर्देशक भट्टले आयुर्वेदिक पुस्तक नै द्धन्दको मुख्य कारक रहेको बताए । चलचित्र जाँच पास समितिले पीजी सर्टिफिकेट प्रदान गरेको एक्सन श्रेणीको फिल्म ‘वार’लाई सुबोध भट्ट र किशोर भट्टले निर्माण गरेका हुन् ।
सुटिङ ताका युनिटमै कलाकार र प्राबिधिकसँग वार परेको यो फिल्ममा बिराज भट्टका भाई कृष्ण भट्ट र निता ढुङ्गानाको मुख्य भुमिका रहेको छ । फिल्ममा किशोर भट्टको कथा, सौरभ लामाको छायाँकन, बनिश शाहको सम्पादन, हिमाल केसीको द्धन्दनिर्देशन तथा बब्बु थापाको करियोग्राफी रहेको छ । फिल्मका संगीतकार मानव सुवेदी र निरजराज पौडेल हुन् ।

