मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी प्रमुख अतिथि रहेको नेपाल चलचित्र कलाकार संघको १२ औ साधारण सभामा संघमा हेर्न लायकको रह्यो । आयोजकले वितरण गरेको ब्याचलाई संघका पूर्व अध्यक्ष बसुन्धरा भूषाल र चलचित्र समाज महासंघ नेपालका अध्यक्ष केपी पाठकले लगाउन अस्विकार गरिदिए ।

कार्यक्रम सञ्चालक सरोज केसीले अध्यक्षद्धयलाई आसन ग्रहणको लागी ड्यासमा आमन्त्रण गरेका थिए । करिब दर्जन फिल्म सम्वद्ध संघ संस्थाका अतिथि बनाइएको कार्यक्रममा अध्यक्ष पाठक ड्यासमा गएनन् । उनी कार्यक्रम अवधी भर ड्यास अगाडी नै बसिरहे । बसुन्धरा भूषाल ड्यासमा त गइन् तर उनले आयोजकले वितरण गरेका ब्याच लगाउन मानिनन् । अध्यक्ष भूषाल रिसाएर कार्यक्रम चल्दै गर्दा घर तर्फ लागिन् ।

नाम बोलाइए पनि ड्यासमा नगएको बारे अध्यक्ष पाठकसँग जिज्ञासा राख्दा उनले भने- 'कुनै पनि कार्यक्रममा अतिथिको एउटा मर्यादा क्रम हुन्छ । उहाँहरुले मर्यादा मिचेर बोलाउनु भयो । त्यसकारण ड्यासमा नगएको हो ।' कार्यक्रममा कस्ले कस्को मर्यादा ख्याल गर्नुपर्ने भन्ने विषयमा राम्रै चर्चा चलेको थियो ।

