शुक्रबारबाट एकैसाथ नेपालभर प्रर्दशनको शुरूवात गरेको फिल्म ढुवानीलाई नेकपा माओवादीले आह्वान गरेको मध्य र सुदुरपश्चिम बन्दले समेत प्रभाव पार्न सकेन ।
बन्दका कारण बाँके लगायत पश्चिमका अधिकांश क्षेत्रमा यातायातका सवारी साधन, शिक्षण संस्था, कलकारखान बन्द भएका कारण बिहानी शो बन्द भएपनि दिउँसोको शो भने दर्शकको आकर्षक उपस्थितिका कारण हल सञ्चालकले फिल्म चलाउन वाध्य भए । नेपालगञ्ज आसपासमा नै सुटिङ गरिएको हुनाले फिल्म हेर्ने दर्शकको चाप हलमा देख्न सकिन्थ्यो ।
कसरी नेपाली चेलीहरु बिभिन्न देशमा रोजगारको सिलसिलामा वेचिएका छन्, कसरी शारिरिक र मानसिक शोषणमा परेका छन् भन्ने कथालाई मुख्य विषय वनाई निर्माण गरिएको फिल्म ढुवानी यतिवेला काठमाण्डौका १७ र मोफसलका २५ सिनेमा घरहरुमा चलिरहेको छ । पहिलो दिन नै उत्साहजनक व्यापार गरेको ढुवानीले आज शनिवारको दिन प्रर्दशन भएको प्राय सबै हलहरूमा उत्साहजनक व्यापार गरेको बुझिएको छ ।
आज नेपालगञ्ज, दाङ, सुर्खेत, बर्दिया, टिकापुर लगायतका हरुहरुमा दर्शकको बाक्लो उपस्थिति रहेको छ । करिब साठी लाख लगानी गरेर फिल्म बनाएर आफूले व्यवसायिक भन्दा पनि सामाजिक जानचेतना जगाउने काम गरेको भन्दै निर्माता कविता श्रेष्ठले दर्शकको माया पाउँदा खुसी लागेको बताईन् । उनले भनिन्- 'फिल्मलाई सबैले मन पराईदिनु भएको छ । यो नै मेरो सफलता हो ।'
पिताम्वर पाण्डे निर्देशित फिल्ममा किशोर खतिवडा, प्रविण खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ ।

