आज शुक्रबारबाट प्रदर्शनमा आएका ढुवानी र राजनीति फिल्म बन्दको मारमा परेका छन् । माओवादीको नेपालगञ्ज बन्दले यी फिल्म श्रृष्टी हल चल्न पाएनन् ।
हिजो बिहिबारको बन्दले फिल्म ढुवानीको हार्ड डिक्स मोफसलका फिल्म घरमा पुर्याउन नसकिएपछि मोफसलको पहिलो शो रोकिएको निर्माता कविता श्रेष्ठले जानकारी गराइन् । काठमाण्डौका क्युएफएक्स, एफक्यूब, विग मुभिज, गोपी, अष्टनारायण, गुण सहित अन्य थिएटरमा भने पिताम्वर पाण्डे निर्देशित फिल्म प्रदर्शन भैरहेको छ ।
ढुवानी हेर्नेबाट पाएको सकारात्मक प्रतिक्रियाले निर्माण युनिट दंग छ । माउथ पब्लिसीटिले फिल्मको व्यापार राम्रो हुने निर्माता श्रेष्ठले आशा व्यक्त गरिन् । ढुवानीमा किशोर खतिवडा, प्रविण खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतको मुख्य अभिनय छ ।
ढुवानीसँगै प्रदर्शनमा आएको राजेश हमाल र कोमल ओली स्टारर राजनीतिले भने बिहानी शोमा राम्रो दर्शक पाएको निर्देशक बसन्त निर्रौलाले जानकारी गराएका छन् । राजधानीका विश्वज्योती, गोपिकृष्ण, अष्टनारायण, गंगा, कलंकी, गुण, ललित, पृथ्वी, आराधाना, हिरारत्न, बाराही, कमल विनायक, नवदुर्गा, मयुर (बनेपा) सहित मोफसलका ३० नजिक हलमा फिल्म प्रदर्शनरत छ । दिपक सुवेदी निर्मित फिल्मले देशको वर्तमान राजनीतिलाई मुख्य विषय बनाएको छ ।

