चुनावी प्रक्रिया प्रति असन्तुष्ट जनाउँदै नेकपा-माओवादी बैद्य समुह सहित ३३ दलीय मोर्चाको उपत्यका बन्दले राजधानीको फिल्म बजार पनि ठप्प भएको छ । बन्दले फिल्म हल, छायाँकन घर, सम्पादन कक्ष सबै बन्द छन् । फिल्म खिच्न व्यस्त युनिट आज घरमा बिदा मनाइरहेको छ ।
काठमाण्डौमा रहेका करिब दुई दर्जन हल बन्दको प्रत्यक्ष मारमा परेका छन् । हल मालिक सहित फिल्म होस्टेल, जंजीर, विर र हाम्री चेलीका निर्मातालाई बन्दले ठुलै घाटा पुर्याउनेछ । बन्द खुलेपछि भने फिल्मको रात्री शो सञ्चालनमा आउनेछ । हल मात्रै हैन, फिल्म खिच्ने काम पनि आज बन्द छन् । विशेष गरी राजधानीमा छायाँकनरत फिल्मले आज क्यामेरा अफ गरेका छन् ।
राजधानीमा छायाँकनरत फिल्म वान वे, वुद्ध वर्न इन नेपाल, उत्सव, मिसन पैसा रिलोडेड लगायतका फिल्मले आज खिच्ने कामलाई रोकेका छन् । वान वे फिल्मकी अभिनेत्री करिश्मा मानन्धर घरमै बिदा मनाइरहेकी छिन् भने वुद्ध वर्न इन नेपालका निर्माता एवम् अभिनेता रमित ढुंगाना आफन्त भेटघाटमा छन् । उत्सवका अभिनेता सौगात मल्ला भने आराम गरिरहेका छन् ।
भोलीको चितवन यात्राको लागी साँझ उत्सव मेम्वर्स बिच भेटघाट गर्ने कार्यक्रम रहेको निर्देशक कुमार भट्टराईले बताए । त्यस्तै फुलपाती रिलिजको फिल्म कालीका कलाकारले बन्दले गर्दा आज स्वराङ्कन गर्न पाएनन् । कालीकी निर्मात्री एवम् अभिनेत्री रेखा थापा अम्बे अपार्टमेन्टमै साथीभाईसँग गफिन व्यस्त छिन् । आफुलाई बन्द बिरोधी बताउने काली रेखा भन्छिन्- 'आजको बन्दलाई गफसँगै आराम गर्ने बाहाना बनाएकी छु ।' त्यस्तै मेघा डेव्यु निर्देशक सम्झना रौनियारले पनि फिल्मको सम्पादन कार्यलाई आज रोकेकी छिन् ।

