तपाई अझै राम्री देखिनुहुन्छ । 'यो त तपाईको हेर्ने नजरमा भर पर्छ । तपाईको नजर राम्रो रै'छ', चार दशक नजिकको उमेरमा रहेकी अभिनेत्री निरुता सिहंले आफ्नो सुन्दरताको मापन गर्न हेर्नेको नजरलाई छोडि दिईन् ।
छैटौं नेफ्टा अवार्डको नृत्य रिहर्सलका लागि गत शनिबार राजधानीमा निरुताले स्वागत पाएकी छिन् । नयाँ बानेश्वर स्थित अल्फा विटा हाउसमा गुरु गोविन्द राई र कमल राईसँग नृत्यको प्रशिक्षणमा व्यस्त दक्षिणा डेव्यु निरुता फिल्मीखबरसँग मज्जैले खुलिन् । 'सिलगुडी होस् या मुम्बई, म नेपाली फिल्म क्षेत्रलाई हरेक पल मिस गर्छु', करिब २० बसन्त नेपाली फिल्मसँग रहेकी निरुताले नेपाली फिल्मको सम्झना बारे सम्झिइन् ।
निरुता प्रायः आमा बुवासँग सिलगुडीमा हुन्छिन् भने समय समयमा भाईको पढाई बारे बुझ्न मुम्बई पनि पुग्ने गर्छिन् । अहिले पानी पंधेरो बनेको मुम्बई निरुताका लागी नेपाली फिल्मबाट टाढा गराउने कारण बन्यो । फिल्ममा व्यस्त हुँदै गर्दा उनी सन् २००९ मा इन्टेरियर कोर्स गर्न उनी मुम्बई पुगिन् । केहि फिल्ममा आफैले इन्टेरियल डिजाइन समेत गरेकी निरुता भन्छिन्- '६ महिने ईन्टेरियर कोर्स गरे पछि नेपाल आएर फिल्ममा व्यस्त हुने सोच बनाएको थिएँ ।' दुर्भाग्य, विविध कारणवश उनले ईन्टेरियर कोर्स गर्न सकिंनन् ।
निरुता मुम्बई शहरमा बलिउड फिल्मका लागि विभिन्न प्रोडक्सन हाउस धाईरहँदा नेपाली फिल्मले विस्तारै खुलापनको बाटो अपनाउँदै थियो । नयाँ कथा, कन्सेप्ट र निर्माण युनिटका बिच दर्पणछायाँ अभिनेत्रीले द गेम, फर्कि आऊ, मलाई मन पर्यो जस्ता फिल्म खेलिन् । ठुल्दाई, आफन्त, आफ्नो मान्छे, अजम्बरी नाताकी हिट हिरोइनका फिल्मले हिटको व्यापार गर्न सकेनन् । निरुता भन्छिन्- 'कुनै पनि क्षेत्रमा एउटै मान्छे पचासौं वर्ष सम्म रहि रहन सक्दैन । स्थापित र विस्थापित हुने प्राकृतिक नियम नै हो ।'
निरुताले थपिन्- 'गौरी मल्ल पछि करिश्मा मानन्धर आउनु भयो । त्यसपछि निरुता सिंह र अहिले रेखा थापा । नयाँ बैनीहरु आउने क्रम जारी छ । को आउँछ जान्छ भन्दा पनि उसले आफ्नो बेलामा कस्तो काम गर्यो भन्ने महत्वपूर्ण कुरा हो ।' निरुताले भनेजस्तै उनले आफ्नो काल खण्डमा जति गरिन्, सही गरिन् । हिरोहरुको जगजगी भएकै बेला निरुताको नामले पनि फिल्म चल्ने गर्दथे ।
प्रायः कलाकारले अपनाएको फिल्म निर्माणको बाटोलाई निरुताले अंगालिनन् । किन ? उनको उत्तर छ- 'मैले फिल्म निर्माण गर्ने सोच नबनाएको हैन । निर्माता लगानी गर्न तयार नभएका पनि हैनन् । तर, लगानी गरेर फिर्ता हुने बाटो नदेखेर फिल्ममा हात हाल्ने आँट आएन ।' वर्तमान फिल्मको बजार बारे निरुता पनि चिन्तित छिन् । 'हाम्रो बेलामा एउटै फिल्मले एक सय दिन, ५१ दिन मनाउने गर्दथ्यो । सुन्छु, अहिले हप्ता दिन पनि फिल्म हलमा चल्न पाउँदैन रे ।'
फिल्म नचल्दा निरूता पूरै निराशा पनि छैनन् । भन्छिन्- 'रात पछि अवश्य दिन आउँछ । फिल्म चल्ने दिन पनि कसो नआउँला ?' अनि फिल्म बनाउने हो ? प्रश्न गरियो । 'अहिलेलाई त्यस्तो योजना छैन । तर, बजार सुध्रिएको खण्डमा अवश्य पनि फिल्म क्षेत्रमा सक्रिय हुनेछु । चाहे पर्दा पछाडी नै किन नहोस् ?,' उनले प्रस्टायाईन् ।
नेपाली फिल्ममा निरुताको कमब्याकलाई केही समय कुर्नु पर्ने भएपनि बलिउड फिल्ममा भने उनी आउने दिपावली पछि व्यस्त हुँदैछिन् । मेन स्ट्रिम प्रोजेक्ट भनिएको फिल्ममा उनले सह-निर्देशनको जिम्मा लिएकी छिन् । निरुता जानकारी गराउँछिन्- 'अहिले स्टोरी सिटिङ चलिरहेको छ । दिपावली पछि व्यस्तता बढ्नेछ ।' नेपाली फिल्मबाट के पाएँ जस्तो लाग्छ ? उनी खुसी देखिइन्- 'मसँग दर्शकको मायाको पोको छ । फिल्मले दिएको यो नै महत्वपूर्ण उपहार हो । भौतिक साधन त आज छ भोली छैन ।'
राम्रो स्टोरी बोकेको स्क्रिप्ट र निर्माण युनिट फिल्म खेल्ने प्रस्ताव लिएर आएमा आफु टेक दिन तयार रहेको बताउने निरुता बिहे चाहि कहिले गर्छिन् त ? 'जन्म, मृत्यु र लगन हाम्रो हातमा हुने रहेनछ,' उनको धार्मिक जवाफ आयो- 'कुनै दिन त अवश्य लगन जुर्ला नि !' लामो समय मनोरञ्जनको क्षेत्रमा रहंदा कोहीसँग मन साटिएन ? उनले सिधा उत्तर दिइन्- 'यदि मन साटेर बसेको भए आज म निरुता सिंह नहुन पनि सक्थें । त्यसकारण माया प्रेमबाट टाढै रहें ।'
मलेसियामा हुने नेफ्टा अवार्डको नृत्य रिहर्सल सकाएर निरुता यही शनिबार सिलुगुडी ब्याक हुँदै छिन् । निरुता सिलगुडी रहुन् या मुम्बई, जहाँ भएपनि नेपाली फिल्म क्षेत्रमा उनी मिस भई नै रहनेछिन् ।

