Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फत्तेमानको श्रद्धाञ्जलीमा संगीतकर्मीको लर्को (फोटोफिचर)

फिल्मीखबर, काठमाण्डौ, 2013/09/10

फोक्सोको क्यान्सरका कारण गए राती निधन भएका बरिष्ठ गायक फत्तेमान राजभण्डारीको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । ओम अस्पतालमा उपचारको क्रममा निधन भएका फत्तेमानको शव श्रद्धाञ्जलीको लागि पशुपति क्षेत्रमा राखिएको थियो । बिहान १० बजे उनको अत्येष्टी गरिएको हो ।

 

फत्तेमानलाई अन्तिम श्रद्धाञ्जली दिन आर्यघाटमा बरिष्ठ संगीतकार अम्बर गुरूङ, शम्भुजित बाँस्कोटा सहित गायकद्धय सत्यराज आचार्य र स्वरूपराज आचार्य, संगीतकार सुरेश अधिकारी, बसन्त सापकोटा, महेश खड्का, गायक अमृत गुरूङ, रामकृष्ण ढकाल, गायिका कुन्ती मोक्तान, देविका बन्दना लगायत दर्जनौं संगीतकर्मीको उपस्थिती थियो ।

 

यस्तै बरिष्ठ अभिनेता, निर्देशक तथा निर्माता निर शाह, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, संस्कृतिमन्त्री रामकुमार श्रेष्ठ, अर्थमन्त्री शंकर कोइराला, युवानेता गगन थापा पनि फत्तेमानलाई अन्तिम श्रद्धाञ्जली दिन आर्यघाट पुगेका थिए । ४ सय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका गायक राजभण्डारीलाई राष्ट्रिय सम्मान नदिने सरकार प्रति उपस्थित संगीतकर्मीहरूले गुनासो पोखेका थिए ।

 

छिन्नलता गीत पुरस्कार, नातिकाजी सम्मान, स्वरसम्राट सम्मान, इमेज लाइफटाइम एचिभमेन्ट अवार्ड, साधना सम्मान, कान्तिपुर एफएम लाइफटाइम अवार्ड लगायत विभिन्न सम्मान पाएका फत्तेमानका ‘मर्न बरु गाह्रो हुन्न …, यस्तो पनि हुँदो रहेछ …, सान्नानीको गालैमा कालो कोठी रैछ …, बनै खायो डडेलोले मनै खायो…जस्ता लोकप्रिय गीतहरू तथा ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता राष्ट्रिय गीत चर्चित छन् । बि.सं. १९९३ मंसिर १३ मा काठमाडौंमा जन्मिएका फत्तेमानका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।