करिब पन्ध्र वर्ष अघि प्रदर्शनमा आएको फिल्म आगोको सिक्वेल निर्माण हुने भएको छ । आगो निर्माण गर्ने किसान पोखरेलले नै 'आगो २'लाई निर्माण गर्न लागेका हुन् ।


'आगो २'मा सुशील क्षेत्री दोहोरिएका छन् । फिल्मको निर्देशन भने मदन घिमिरेले गर्नेछन् । पहिलो आगोलाई नारायण पुरीले निर्देशन गरेका थिए । सारङ्गा श्रेष्ठको स्थानमा प्रिया रिजालाई भित्र्याइएको छ । साथमा सारिका घिमिरे र गणेश गिरी पनि 'आगो २'मा मुख्य भुमिकामा प्रस्तुत हुनेछन् । ६० लाख सम्म बजेट अनुमान गरिएको फिल्मको आज भद्रकाली मन्दिरमा सुभ साइत गरियो ।


फिल्मका प्रमुख पात्रले मूहर्त सट दिएका थिए । सुशिल, प्रिया, सारिका, गणेश र संगीतकार विकास चौधरीले मूहर्तमा फिल्मको टाइटल गीत समेत गाए । फिल्मले देशको वर्तमान अस्थिर राजनीतिक घटनाक्रमलाई मुख्य प्लट बनाएको निर्देशक घिमिरेले बताए । फिल्मको सुटिङ यही भदौ २६ गते देखि काठमाण्डौबाट प्रारम्भ हुनेछ । फिल्मको पूरै छायाँकन काठमाण्डौ आसपासका क्षेत्रमा गरिने बताइएको छ ।


४५ दिनमा सुटिङ प्याक अप गर्ने निर्माण युनिटको लक्ष्य छ । फिल्मका दुई वटा गीतमा विकास चौधरीको संगीत छ । शम्भू सापकोटा छायाँकार रहेको फिल्ममा रोशन श्रेष्ठ फाइट डिरेक्टर छन् । कार्यक्रममा कलाकार संघका अध्यक्ष नवल खड्का र सञ्चारकर्मी सुव्रत आचार्यले फिल्म सफलताको लागी शुभकामना दिए ।

