बंगलादेशको ढाकामा सन् २०१४ को जनवरी १० देखि १८ तारिखसम्म हुन गईरहेको '१३ औं ढाका अर्न्तराष्ट्रिय फिल्म फेस्टिभल'मा नेपाली फिल्म 'अन्तराल'ले पनि सहभागिता जनाउने भएको छ । फिल्मका निर्माता जीवनसाथी बस्नेतले अर्न्तराष्ट्रिय सेक्सनमा आफ्नो फिल्म स्क्रिनिङ गर्नका लागि औपचारिक पत्र आएको जानकारी गराए ।
ढाकाको रेन्बो फिल्म सोसाईटीले आयोजना गर्दै आएको उक्त फेस्टिभलमा आफ्नो फिल्म स्क्रिनिङ हुने भएपछि निर्देशक दिपा बस्नेतले सफलताको एउटा सिढीं उक्लेको महसुस गरेकी छिन् । गत बैशाख महिनामा रिलिज भएर आर्थिक पाटो बलियो बनाउन नसकेको यो फिल्मलाई अन्य थुप्रै फेस्टिभलमा लैजाने तयारी गरेको दिपाको भनाई छ । हलमा फिल्म अपेक्षा अनुरूप नचलेपनि फेस्टिभलमा राम्रो स्थान पाएर चल्ने आश उनको छ ।
जीवनसाथी फिल्म्सको व्यानरमा दिपाले पहिलो पटक निर्देशन गरेको यस फिल्ममा कमलमणी नेपाल, राजकुमार पुडासैनी, लोकेन्द्र लेखक, घनुभाई जोशी, मानव सुवेदी, अशिष्मा नकर्मी, नम्रता सापकोटा, अमितेष शाह, रूवी राणा, जेशिका बोगटी लगायतले अभिनय गरेका छन् । शशि विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन तथा अभिमन्यू निरवीको लेखन रहेको यो फिल्ममा असिम चित्रकार र वुद्धरत्न महर्जनको सम्पादन एवं ग्राफिक्स रहेको छ ।

