दुःखद खबर ! वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन भएको छ । उनको गएराति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
बि.सं. १९९३ मंसिर १३ मा काठमाडौंमा जन्मिएका फत्तेमानको केहि दिन अगाडी मात्रै उपचारमा संलग्न ओम हस्पिटलका चिकित्सक सुदिप श्रेष्ठले फोक्सोमा क्यान्सर भएको पुष्टि गरेका थिए । अन्तिम अवस्थामा क्यान्सर लागेको पत्ता लागेपछि उनको उपचार सम्भव नदेखिएको हो । ४ सय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका गायक राजभण्डारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
छिन्नलता गीत पुरस्कार, नातिकाजी सम्मान, स्वरसम्राट सम्मान, इमेज लाइफटाइम एचिभमेन्ट अवार्ड, साधना सम्मान, कान्तिपुर एफएम लाइफटाइम अवार्ड लगायत विभिन्न सम्मान पाएका फत्तेमानका ‘मर्न बरु गाह्रो हुन्न …, यस्तो पनि हुँदो रहेछ …, सान्नानीको गालैमा कालो कोठी रैछ …, बनै खायो डडेलोले मनै खायो…जस्ता लोकप्रिय गीतहरू तथा ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता राष्ट्रिय गीत चर्चित छन् ।
यस दु:खद घडीमा संगीत क्षेत्र तथा उनका प्रशंशक सहित सिंगो फिल्म क्षेत्र पनि स्तब्ध बनेको छ । एकाध मात्रै नेपाली फिल्ममा स्वर दिएका फत्तेमानको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछ । फिल्मीखबर डट कम परिवार !

