मेरो एउटा साथी छ फिल्मको व्यवसाय उत्साहप्रद नभए पनि अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको जोडीलाई टिनेजर्स दर्शकले अत्याधिक रुचाएका थिए । यहि जोडी मेरो एउटा साथी पछि पुन: पर्दामा जम्ने भएको छ ।
आर्यन र नम्रता मुख्य अपोजिट हुने हिउँदे झरी अर्थात् नोभेम्वर रेनको आज प्रेस मिट मार्फत औपचारिक जानकारी गराइयो । आर्यन सिग्देल इन्टरनेटमेन्टको समेत लगानी रहने फिल्मको यही साता देखि धरानबाट छायाँकन प्रारम्भ गरिनेछ । नोभेम्वर रेनका मुख्य पात्र तथा निर्माता सिग्देलले फिल्म निर्माण गर्ने आफ्नो योजनालाई स्क्रिप्ट राईटर र निर्माताले पूरा गरि दिएको बताए ।
फिल्मको बारेमा बोल्दै आर्यनले भने- 'फिल्म बजार राम्रो छैन । यति बेला फिल्म निर्माण गर्नु भनेको ठुलो चुनौती उठाउनु हो । यो चुनौतीलाई आत्मसाथ गर्दै फिल्म निर्माणमा हात हालेको हुँ ।' उनले फिल्म मेरो एउटा साथीलाई जस्तै दर्शकले नेभेम्वर रेनलाई पनि साथ दिने विश्वास व्यक्त गरे । मेरो एउटा साथी छ पछि नोभेम्वर रेनमा आर्यनको जोडी भएर देखिन लागेकी अभिनेत्री नम्रता श्रेष्ठले पनि दर्शकले फिल्मलाई मन पराउने आशा व्यक्त गरिन् ।
डेव्यु अभिनेत्री छुल्ठिम डोल्मा गुरुङले आफ्नो कामलाई दर्शकले मन पराउने आशा रहेको बताईन् । आइ एम सरी पछि निर्देशनमा फर्किएका दिनेश राउतले फिल्म निर्माण गर्नु चानचुने कुरा नभएको बताए । स्क्रिप्ट राईटर छेतन गुरुङले फिल्म पूर्ण रुपमा लभ र इमोश्नल हुने भनाई राखे । त्यस्तै निर्माता सुवास गिरीले फिल्मले लगानी रिकभर गर्ने आशा व्यक्त गरे ।
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी लगायतले फिल्म सफलताको लागी शुभकामना व्यक्त गरे । आर्यन सिग्देल र सुवास इन्टरटेनमेनको ज्वईन्ट भेन्चरमा राजेश श्रेष्ठको क्यामेरा र तारा प्रकाश लिम्वुको संगीत छ । आर्यन, नम्रता र छुल्ठिमको साथमा केशव भट्टराई, हिउँवाला गौतम, अमितेश शाह, अल्पना कर्मचार्य, महेश त्रिपाठी, अर्जुन खड्का र राजु लामाको मुख्य अभिनय रहनेछ । फिल्म प्रदर्शन मिति फेब्रुअरी १४ अर्थात भ्यालेनटाइन डे तोकिएको छ ।





तस्विर : महेश्वर मान सिंह

