Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुस्कान पासा अब ठुलो पर्दामा

फिल्मीखबर, काठमाण्डौ, 2013/09/09

मेरी बास्सैको मुस्कान पासा अहिले ग्रामिण देखि शहर सम्म हिट छन् । बालबालिका हुन् या वृद्धवृद्धा, मुस्कान पासालाई रुचाउने निश्चित सिमा भित्र सिमित छैनन् । यही लोकप्रिय पात्र अब ठुलो पर्दामा देखिदैछ । तर, मुस्कान पासा भएर हैन ।

 

'ठुलो पर्दाको पात्रलाई अहिले नै सार्वजनिक नगर्ने भन्ने सर्त छ', मुस्कान पासा अर्थात् सिताराम कट्टेलले फिल्मीखबरसँगको कुराकानीमा सुनाए । २०५९ सालमा सानो पर्दाको हाँस्य टेलिश्रृङखला गीताञ्जलीबाट अभिनय यात्रा प्रारम्भ गरेका सिताराम कट्टेल ठुलो पर्दामा पनि फड्को मार्दैछन् । मेरी बास्सैका धुर्मुसले केही समय अघि मात्रै 'छ एकान छ' नामक फिचर फिल्मको सुटिङ सकाए । यो फिल्ममा उनी सँगै अन्य ५ जना हाँस्य कलाकारहको मुख्य भुमिका छ ।

 

फिल्म 'छ एकान छ' पछि उनी अब विकास आचार्यको सिक्वेल फिल्म 'फेरी नाइ नभन्नु ल'मा देखिदैछन् । 'स्क्रिप्ट पढ्दै छु । रोल राम्रो लाग्यो', गाईजात्रे कार्यक्रमबाट भर्खर बिदा पाएका नक्कली केपी ओली भन्छन्- 'सानो पर्दा र ठुलो पर्दामा खासै ठुलो अन्तर पाइन । काम गर्ने शैली उस्तै हो । काम गर्ने समुह र बजेटमा मात्रै फरक पाएँ ।' उसो त उनले केही वर्ष अघि दौड नामक फिल्ममा पनि अभिनय गर्ने मौका पाएका थिए । तर उनको त्यो फिल्म हलमा भने दौडन सकेन ।

 

फिल्म 'छ एकान छ'बाट उनले कस्तो आशा राखेका छन् त ? मेरी बास्सैकै खड्का जी भन्छन्- 'मेहनत गरिएको छ । दर्शकले मन पराउनु हुन्छ भन्ने आशा छ ।' केही वर्ष अघि मेरी बास्सैकी फतौरी बुढी (कुञ्जना घिमिरे)लाई माया जालमा पारेर घरजम बसालेका खड्का जी वर्तमान नेपाली फिल्मको खस्कंदो व्यापार प्रति चिन्तित देखिए । दर्शकलाई हलसम्म तानेर फिल्मको व्यापार बढाउन के गर्ने त ? उनको उत्तर छ- 'हामी अरूको नक्कल गर्नमा मात्रै सिमित भयौं । नयाँ प्रबिधिको प्रयोगमा मौलिक विषय माथि फिल्म निर्माण गर्नुपर्छ ।

 

हाँस्य व्यङ्ग्य कलाबाटै राजधानीमा घर गाडी किन्न सफल भएका सितारामले केही वर्ष पछि फिल्म निर्माण गर्ने योजना पनि सार्वजनिक गरे । योजना सुनाउँछन्- 'फिल्मको लागी कथा तयार गर्दैछु । मौलिक कथाबस्तुमा फरक प्रस्तुती हुनेछ ।' के उसो भए सानो पर्दालाई माया मार्ने त ? 'सानो पर्दामा काम नगर्ने भन्ने त कल्पना भन्दा बाहिरको कुरा हो । हाम्रो लक्ष्य भनेको सानो र ठुलो दुवैमा काम गर्नु हुनेछ', धुर्मुसले भने ।