Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

हिट कृतिका फल्प फिल्म !

फिल्मीखबर, काठमाण्डौ, 2013/09/08

बिडम्वना ! हिट कृति ठुलो पर्दामा फल्प बन्न पुगे । बजारमा अत्याधिक बिक्रि र पाठक माझ हिट भएका नेपाली कृतिमा आधारित फिल्म सफल भएनन् । फिल्म बारेको टिप्पणी जे जस्तो भएपनि कृतिमा आधारित फिल्मको हलमा व्यापार राम्रो हुन सकेन । कृतिको ख्याती क्यास गर्न फिल्म असफल बने ।

 

नेपालीको फिल्मको शुरूवात क्रममा साहित्यीक कृतिमा आधारित रहेर बनेका फिल्महरू केहि मात्रामा सफल बनेपनि पछिल्लो समय साहित्यीक कृतिमा आधारित फिल्महरूले दर्शकको ध्यान तान्न सकेका छैनन् । साहित्यकार विजय मल्लको उपन्यास 'कुमारी शोभा' मा आधारित रहेर निर्देशक प्रेम बहादुर बस्नेतले 'कुमारी' फिल्म निर्देशन गरे । यो पहिलो रंगीन नेपाली फिल्म मात्रै नभएर साहित्यीक कृति माथी बनेको पहिलो नेपाली फिल्म पनि हो ।

 

गुरूप्रसाद मैनालीको साहित्यिक कृति 'परालको आगो'मा आधारित रहेर निर्माण गरिएको फिल्म 'परालको आगो', बालकृष्ण समको अमर कृति 'प्रेम पिण्ड'मा आधारित फिल्म 'प्रेम पिण्ड', डायमन समशेर राणाको 'बसन्ती'मा आधारित फिल्म 'बसन्ती', ध्रुवचन्द गौतमको 'कट्टेल सरको चोटपटक' कृतिमा आधारित 'वासुदेव', वासु शशीको 'नगदनारायण'मा वनेको 'लोभी पापी', मोदनाथ प्रश्रितको 'सपनाहरु देशलाई'मा आधारित 'वलिदान', नह थापाको 'सिमारेखा' लीलवहादुर क्षेत्रीको 'बसाईं'ले कुनै व्यवसायिक उथलपुथल नल्याए पनि चर्चा भने पाएको थियो ।

 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य 'मुनामदन' माथी बनेको फिल्म 'मुनामदन' मात्र त्यस्तो एउटा फिल्म हो जसले व्यवसायिक सफलता पाएको थियो । थुप्रै हलमा ५१ औं दिन मनाउन सफल यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । अभिनेत्री उषा पौडेल मुना र अभिनेता दिपक त्रिपाठी मदन बनेको यस फिल्म हेर्न दर्शक हलमा ओर्लिए । त्यसपछि बनेका फिल्महरू भने पूर्ण रूपमा असफल बने ।

 

कर्ण शाक्यद्धारा लिपिवद्ध अटो वायोग्राफी पल माथि निर्मित पल फिल्म पनि व्यापारिक रुपमा असफल बन्न पुग्यो । रमेश बुढाथोकी यस फिल्मका निर्देशक हुन् । राजबल्लभ कोइराला र निशा अधिकारीले मुख्य भुमिका निभाएका छन् । फिल्म युनिटले प्रदर्शन ताका शहर सफा राख्न भित्तामा पोस्टर नटाँस्ने अभियान चलाएको थियो । त्यस्तै निर शाहले पनि गोपाल प्रसाद रिमालको कृति मसान माथि फिल्म निर्माण गरे । शाहको फिल्म मसान पुस्तक जस्तो सफल बन्न सकेन । नीरले चर्चित कृति आधारित रहेर निर्देशन गरेको यो तेस्रो फिल्म हो । यसअघि 'वसन्ती' र 'वासुदेव' बनाइसकेका छन् ।

 

मदन पुरस्कार प्राप्त पारिजातको उपन्यास 'शिरीषको फूल' माथि आधारित रहेर निर्माण गरिएको फिल्म 'शिरीषको फूल'ले त झन् पानी भन्न पाएन । कृष्ण धारावासीको पुस्तक झोला माथि पनि फिल्म निर्माण भएको छ । प्रदर्शनको मुखमा रहेको झोला फिल्मले नेपालको सती जाने प्रथालाई प्रस्तुत गर्नेछ । अभिनेत्री गरिमा पन्त मुख्य भुमीकामा रहेको यो फिल्मले अन्य फिल्म जस्तै नियती भोग्नु नपरोस् । सफलताको शुभकामना !