तीजको रमझमले महिला दिदीबहिनीहरूलाई छोएको छ । हिजोसम्म दर खाने चटारोमा रहेका नेपाली हिन्दू महिलाहरू आज ब्रतसँगै नाच्न र गाउनमा व्यस्त छन् । यस्तो अवस्थामा अभिनेत्री प्रियंका कार्कीलाई भने भाईरलले सताएको छ ।
केहि दिन अगाडी देखि भाईरलका कारण रुघा, खोकी तथा ज्वरोको सामना गर्दै आएकी प्रियंकाले तीज मनाउन पाएकी छैनन् । 'ब्रत त म बस्थिन तर नाच्न भने पाईन,' घरमा आराम गरेर बसिरहेकी प्रियंकाले भनिन्,' ज्वरो र रूघा त कम हुँदै गएको छ तर कमजोर धेरै भएकाले केहि गर्न सकेकी छैन ।' हिजो बेलुका घरमा तीजको रौनकलाई हेरेरै चित्त बुझाएकी प्रियंकाले आजको दिन पनि खुलेर नाच्न नपाउँदा दु:ख व्यक्त गरिन् ।
यस्तै मलेसियामा हुन लागेको नेफ्टा अवार्डको लागि भईरहेको नृत्य प्रशिक्षणमा पनि प्रियंका सहभागी हुन पाएकी छैनन् । तर उनले बिरामी भएर आराम गरेको यो अवस्थामा फिल्म 'फेरि नाइ नभन्नु ल'को स्क्रिप्ट भने पढेर सक्ने बताईन् । 'कहिं जान सक्दिन त्यसैले घरमै बसेर स्क्रिप्ट अध्ययन गर्छु ।' प्रियंका आगामी शनिबार फिल्म सुन्तलीको बाँकि सुटिङका लागि तनहुँको बन्दिपुर जाँदै छिन् ।

