नेपालमा चलिरहेको साफ च्याम्पियनसिप फुटबल खेलको ह्याङमा रहेका पपुलर अभिनेता जीवन लुईटेलले बोल्नु भन्दा पनि काम गरेर देखाउँदा राम्रो हुने बताएका छन् । बिहिबार फिल्म 'स्टुपिड मन'को बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा कार्यक्रम सञ्चालक नरेश भट्टराईले जीवनलाई फिल्मको बारेमा बोल्ने बोल्न आग्रह गर्दा जीवनले भने- 'बोल्ने भन्दा पनि हाम्रो काम गोल हान्ने हो ।'
'कुसुमे रूमाल २' डेब्यू अभिनेता निरज बरालको साथमा विवेक शाहीले निर्माण गर्न लागेको यस फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्दैछन् । फिल्मको बारेमा जानकारी दिंदै निर्देशक भट्टराईले भने- 'मानिसको मन कहिं न कहिं बेबकुफ हुन्छ, मान्छे भित्र कहिं न कहिं मुर्खता हुन्छ । यस्तै सारलाई लिएर रोमान्टिक प्रेमकथानक फिल्म बनाउन लागेका छौं ।' थाईल्याण्डमा बस्ने चार युवायुवतीको प्रेमकथालाई फिल्ममा देखाईने निर्देशक भट्टराईले बताए ।
जीवन लुईटेल र निर्माता बन्न लागेका निरज बराललाई अनस्क्रिन साथ नयाँ अनुहारद्धय चाँदनी शर्मा र रिजु श्रेष्ठले दिनेछन् । यस्तै फिल्ममा मार्टिन खानको पनि मुख्य भुमिका रहने छ । अभिनेताबाट निर्माता बन्न लागेका बरालले राम्रो फिल्मको खाँचो भईरहेकाले आफ्नो टिमले नेपाली फिल्म उधोग र दर्शकका लागि राम्रो फिल्म बनाएर देखाउने बताए । निरजले भने- 'हामीले दर्शकलाई केहि नयाँ टेस्ट दिने छौं ।'
.jpg)
निर्देशक भट्टराईकै कथा रहेको यस फिल्मको पटकथा सञ्चारकर्मी सामिप्य तिमल्सिनाले लेखेका हुन् । अर्जुन पोखरेल र करण राज कार्कीको संगीत रहने यो फिल्मलाई संजय लामाले खिच्ने छन् । यस्तै फिल्ममा अष्ट महर्जनको द्धन्दनिर्देशन, कविराज गहतराजको नृत्यनिर्देशन तथा बुद्धिलाल मगरको प्रोडक्सन डिजाईन रहनेछ । सुभेच्छा फिल्म्सको व्यानरमा निर्माण हुने यो फिल्मको यहि सेप्टेम्बर ११ तारिखका दिन देखि थाईल्याण्डमा सुटिङ हुनेछ ।
.jpg)
३५ दिनको सुटिङ सेड्यूल निकालेर निर्देशक भट्टराई, छायाँकार लामा र निर्माता शाही भोली शुक्रबार नै थाईल्याण्ड प्रस्थान गर्दैछन् भने बाँकि युनिट केहि दिनमा नै थाईल्याण्ड पुग्नेछ । फिल्मको सम्पूर्ण सुटिङ थाईल्याण्डमा नै हुने बताईएको छ । आजको कार्यक्रममा गायिका अञ्जु पन्तले फिल्मको शिर्ष गीत गाएर सुनाएकी थिईन् भने निर्माता संघका अध्यक्ष राजकुमार राई र प्राबिधिक संघका अध्यक्ष मनोज केसीले निर्माण युनिटलाई सफलताको शुभकामना दिएका थिए ।

तस्विरहरू : भुषण आनन्द ठकुरी

