आउँदो अक्टुबर ७ देखि १० तारिखसम्म कोरियाको बुसानमा सम्पन्न हुन गईरहेको एशियन फिल्म पोलिसी फोरममा सहभागिता जनाउन चलचित्र विकास बोर्डले ४ जना सदस्यलाई जन्ती झैं पठाउँदै छ । चार जना सदस्य जानुपर्ने कारण ? बोर्डसँग स्पष्ट जवाफ छैन ।
एशियन फिल्म पोलिसी फोरमले नेपालको एक जना प्रतिनिधीलाई मात्र आतेजाते खर्चको व्यवस्था गर्ने गर्दछ । यसअघि यस फोरममा बोर्डले दुई देखि तीन जना सम्म पठाउने गरेको थियो । यसपाली भने बोर्डका सदस्य सचिव फणिन्द्र गौतम, सदस्य निलहरि काफ्ले र कर्मचारीद्धय आनन्द घिमिरे र राजेश चालिसे बुसानमा आयोजना हुने उक्त फोरममा सहभागी हुँदैछन् । यि मध्ये तीन जनाको खर्च बोर्डले नै बेहोर्ने छ ।
किन पठाउँदै छ बोर्डले चार जना प्रतिनिधी ? बोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता भन्छन्- 'सबैलाई जाने रहर छ । कस्लाई नजानु भन्ने ?' यति भन्दै बाँकी कुरा बोर्ड सदस्य सचिवलाई सोध्न आग्रह गर्दै अध्यक्ष मोरवैता पन्छिन खोजे । फिल्मीखबरको यहि प्रश्न बोर्डका सदस्य सचिव फणिन्द्र तर्फ सोझियो । फणिन्द्रको पनि स्पष्ट जवाफ छैन । उनी भन्छन्- 'यसपाली फेस्टिभलमा फिल्म प्रवर्द्धनका लागि हामीले स्टल राख्ने सोचेका छौं । त्यसैले दुई जना सदस्य स्टलमा बस्नु पर्ने भएकाले ४ जनालाई बोर्डले सिफारिस गरेको हो ।'
फणिन्द्रले पदको हैसियतले गर्दा आफू स्टलमा बस्न नसुहाउने भन्दै दुई सदस्य सिफारिस गरेको बताए । बोर्डले चार जना सिफारिस गरेपनि सञ्चार मन्त्रालयले स्विकृत दिने या नदिने कुनै टुंगो नरहेको उनको भनाई छ । यदि सञ्चार मन्त्रालयले स्विकृत जनाएमा बोर्डको खर्चमा तीन सदस्यले कोरियामा मस्ती गर्नेछन् ।
यता फोरममा सहभागिता जनाउन लागेका बोर्ड सदस्य काफ्लेले आफू जानै पर्ने भन्दै ४ जना जानुको कुनै तुक नरहेको धारणा राखे । तपाईं जानै पर्ने कारण ? काफ्ले भन्छन्- 'एशियन फिल्म नीति निर्माण गर्ने ठाउँमा फिल्म बुझेको मान्छेको उपस्थिती हुँदा राम्रो हुने भएकाले म जान लागेको हो । त्यसैमाथी कोरियामा रहेका एनआरएनहरूसँग नेपाली फिल्मलाई कसरी प्रबर्द्धन गर्न सकिन्छ भन्ने बिषयमा मैले छलफल पनि गर्दै छु ।'
यस्तै सदस्य काफ्लेले मुख्य प्रशासनले सदस्यहरूलाई नियन्त्रणमा हिंडाउन नसकेकाले यस्तो अनियन्त्रित भएको आरोप लगाए । 'यस्तो बिषयमा मुख्य प्रशासन नै जिम्वेवार हुनुपर्छ', उनले भने । यता सदस्य सचिव गौतमले अहिलेसम्म फोरममा आउने जाने मात्र काम भएको भन्दै यसपाली आफूहरूले केहि उपलब्धि मूलक काम गरेर आउने दाबी गरे ।
स्मरण रहोस्, सन् २००८ देखि शुरू भएको एशियन फिल्म पोलिसी फोरमले सम्पूर्ण एशियन मुलुकमा फिल्मको प्रबर्द्धन गर्ने उद्देश्य राखेको छ । यसअघि सन् २००९मा सम्पन्न एशियन फिल्म पोलिसी फोरममा नेपालको तर्फबाट तत्कालिन बोर्ड अध्यक्ष अमरराज गिरी र कर्मचारी अनुपम निरौलाले सहभागिता जनाएका थिए । यस्तै सन् २०१०मा सदस्य सचिव धनराज ज्ञवाली र बोर्ड सुचना अधिकृत चिरञ्जिबी गुरागाईंले सहभागिता जनाएका थिए । यहि बेलामा नै नेपालले एशियन फिल्म कमिसन नेटवर्कको औपचारिक रूपमा सदस्यता लिएको थियो ।
यस्तै सन् २०११मा सम्पन्न एशियन फिल्म पोलिसी फोरममा तत्कालिन बोर्ड अध्यक्ष गणेश भण्डारी, सदस्य सचिव धनराज ज्ञवाली र कर्मचारी प्रभाकर भट्टराई सहभागी भएका थिए । यि तीन सदस्य मध्ये दुई जना बोर्डकै खर्चमा कोरिया पुगेका थिए । सन् २०१२मा भने बोर्ड सदस्य रामकुमार मण्डल र कर्मचारी गिरिश शर्मा कोरिया पुगेका थिए ।

