तीजको अवसर पारेर भोली शुक्रबारबाट तीन नयाँ फिल्म वीर, जंजीर र हामी चेली देशभर एकसाथ प्रदर्शनमा आउँदैछन् । प्रचारप्रसारका माध्यमले दर्शकमाझ राम्रो छाप छोड्न नसकेका यि तीन फिल्म मध्ये दर्शकले कस्लाई छान्छन् ? फ्राईडे रिलिज पश्चात नै थाहा हुनेछ ।
अभिनेत्री रेखा थापा र यश कुमार प्रमुख भुमिका रहेको फिल्म वीरले लभ रिभेञ्जको स्टोरीलाई मुख्य प्लट बनाएको छ । बाटोमुनिको फुल जोडी रेखा र यशको वीर दोस्रो पटक सँगै काम गरेको प्रोजेक्ट हो । दिपक श्रेष्ठ निर्देशित यस फिल्मलाई रम्भा वलीले निर्माण गरेका हुन् । वीर फिल्म नारी प्रधान भएकाले तीजको अवसर पारेर रिलिज गर्न लागिएको निर्माण युनिटले जनाएको छ । फिल्ममा सौरभ लामाको सिनेम्याटोग्राफी र सुरेश अधिकारीको संगीत छ ।
शोभित बस्नेत निर्देशित फिल्म जंजीर पनि तीजकै अवसर पारेर भोली शुक्रबार रिलिज हुनेछ । फिल्ममा जयकिसन बस्नेत, हर्षिका श्रेष्ठ, सुस्मिता शाही लगायतका कलाकारको अभिनय छ । गणेश कुमार श्रेष्ठको छायाँकन रहेको फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन छ । फिल्मलाई करण क्रेजीले निर्माण गरेका हुन् । फिल्ममा टंक बुढाथोकीको संगीत छ ।
द्वन्द पीडित र भारतमा बेचिएकी नेपाली चेलीवेटीको बारेमा आधारित रहेर निर्माण गरिएको फिल्म 'हाम्री चेली' पनि नारी प्रधान भएकाले तीजकै अवसर पारेर रिलिज गर्न लागिएको हो । मिन प्रसाद श्रेष्ठले निर्माण गरेको यस फिल्मलाई बाबुराम घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा शितल केसी, अञ्जु निरौला, रमेश विसी, कुमारी परियार, गिरीप्रसाद पुन, कुलचन्द्र पुरी लगायतको अभिनय रहेको छ । यस्तै फिल्ममा निर्देशन घिमिरेको लेखन, कस्तुप पन्त र सुरेस सेन्चुरीको संगीत तथा मनिष पन्थको छायाँकन रहेको छ ।

