गजबको संयोग ! भदौ १९ गते झण्डै आधा दर्जन फिल्मकर्मीको जन्म अवसर परेको छ । अभिनेत्री गरिमा पन्त, निर्देशक प्रशन्न पौडेल, निर्मात्री कृषा चौलागाइँ, अध्याय फिल्म डेब्यू अभिनेत्री सिम्पल खनाल तथा काठमाण्डू फिल्मकी अभिनेत्री प्राप्ति घिमिरेले आज जन्मदिन मनाउँदैछन् ।

निखिल दाई फिचर फिल्म डेव्यु अभिनेत्री गरिमा पन्त बिहानको पूजा पछि सामाखुसी बसाई स्थानमा रमाईलो गर्दैछिन् । दुई दर्जन जति फिचर फिल्ममा अभिनय गरेकी अभिनेत्री पन्तले जन्मदिनमा कुनै विशेष कार्यक्रम राखेकी छैनन् । भन्छिन्- 'आज जन्मदिन पर्यो । यो नै विशेष दिन हो ।' आफ्नो उमेर बारे गरिमा ठट्यौली शैलीमा भन्छिन्- 'म त भर्खर १४ बर्ष पुगेर १३ बर्षमा लागेकी छु । अरूको उमेर बढ्दै जान्छ तर मेरो घट्दै छ ।' गरिमा अभिनित झोला, मनले मनलाई छुन्छ र पराइ प्रदर्शनको क्रममा छन् ।

अभिनेत्री सिम्पल खनाल भने राजधानी शहरमा साथीभाई र परिवारसँग रमाइलो गर्दैछिन् । साँझमा पनि उनले जमघटको कार्यक्रम राखेकी छिन् । फिचर फिल्म अध्याय अभिनेत्री खनाल अहिले मोडलिङ र म्यूजिक भिडियोमा व्यस्त छिन् । जन्मदिन मनाइरहेको उमेर बारे जिज्ञासा राख्दा सिम्पल हाँस्दै भन्छिन्- 'यो पनि लेडिजलाई सोध्ने प्रश्न हो र ?'

केही समय अघि विहे गरेकी निर्मात्री कृषा चौलागाइँको वर्थडे स्पेशल भने श्रीमानसँग हुँदैछ । कसम हजुरको र के म तिम्रो साथी बन्न सक्छु फिल्म निर्माण गरेकी कृषाले आजको पूरै समय श्रीमानलाई दिएको बताइन् । उनले जन्मदिनको खास कार्यक्रम नभएको बताइन् । उनी पनि उमेर बारे खुल्न चाहिनन् । वर्थडे गर्ल कृषाले भनिन्- 'लेडिजको उमेर त नसोध्नु भन्छन् ।'

निर्देशक प्रशन्न पौडेलको भने जन्मदिनको आफ्नै परिभाषा छ । स्वर डेव्यु निर्देशक पौडेल जन्मदिन बारे धारणा राख्छन्- 'जन्मदिनलाई म जीवन बाँच्ने एक वर्ष कम र नयाँ चुनौतीका दिन घटे भन्ने रुपमा लिन्छु ।' त्यसैले उनले जन्मदिन मनाउने कुनै कार्यक्रम राखेका छैनन् । अन्य दुई फिचर फिल्म मेरो बेष्ट फ्रेण्ड र इलाभेन्थ स्ट्रिट निर्देशन गरेका पौडेल नयाँ फिल्म निर्देशनको तयारीमा जुट्दैछन् ।

काठमाण्डू फिल्मकी अभिनेत्री प्राप्ति घिमिरेले पनि आज वर्थडे सेलिव्रेसन गर्दैछिन् । हाल जर्मनीमा रहेकी प्राप्तीले साँझ परिवार र साथी सर्कलसँग जन्मदिनको उत्सव मनाउँदैछिन् । फिल्मीखबरको सम्पर्कमा आएका र सम्पर्क भन्दा बाहिर रहेका भाद्र १९ गते जन्मने सम्पूर्ण फिल्मकर्मीलाई जन्मदिनको धेरै-धेरै शुभकामना !

