सुदुर पश्चिम क्षेत्र प्राकृतिक रुपमा जति सुन्दर छ, त्यती नै राज्यबाट ठगिएको रहेछ । 'मैले जे भोगेँ' टेलिभिजन कार्यक्रम खिच्न जाँदाका अनुभव हाँस्य अभिनेता हरिवंश आचार्यले यसरी सुनाए- 'त्यहाँका मान्छेलाई राजधानी भनेको दिल्ली मात्रै छ । उनीहरु नुन लिन समेत दिल्ली पुग्नु पर्छ । हाम्रा नेताले राष्ट्रियताको कुरा गरेर भारतलाई गाली गर्नु बेकार छ ।'
हरिवंशले सुदुर पश्चिमका मान्छे नुन तेलमा समेत दिल्लीको भर पर्नु परेको कुरा मात्र सुनाएनन्, दिल्लीमा परिश्रम गर्न जाँदा पाएको आजीवन एचआईभी उपहार र भोकमरीको पनि कुरा गरे । पूर्वको झापा देखि पश्चिमको डढेलधुरा सम्मका बालबालिकाले भोग्दै आएको विविध खाले समस्या र प्रगतीका कथालाई लिएर हरिवंशले टेलिभिजन कार्यक्रम 'मैले जे भोगेँ' दर्शक माझ ल्याउँदै छन् ।
कार्यक्रमबारे जानकारी दिन आज मण्डला नाटक घरमा आयोजना गरिएको कार्यक्रममा प्रस्तोता हरिवंशले सम्झिए- 'मैले सयौं व्यक्तिसँग अन्तरवार्ता फेस गरेको छु । तर, अरुको अन्तरवार्ता पहिलो पटक लिएँ । समस्यामा परेका बालबालिकासँग कुरा गर्दा संवेदनशील हुन जरुरी थियो । समुहको सहयोगले त्यती अप्ठ्यारो परेन ।' पत्नी रमिला सहित उपस्थित भएका हरिवंशले एचआईभीले आमा बुवा गुमाएका बालबालिका र आफ्नै बाबुको सम्बन्धबाट सन्तान जन्माएकी बालिकाको प्रसंग निकाल्दा कार्यक्रममा उपस्थित सबै भावविह्वल भएका थिए ।
सेभ द चिल्ड्रेन सँगको सहकार्यमा एन्टेना फाउन्डेसन नेपालको प्रस्तुती रहेको कार्यक्रम 'मैले जे भोगेँ' यही शनिबार (भदौ २२ गते) बेलुका ८: ५० देखी ९: ३० सम्म नेपाल टेलिभिजनमा प्रशारण हुनेछ । कार्यक्रमका निर्देशक दिपक बज्रचार्य हुन् । रेडियो तथा टेलिभिजन कार्यक्रम उत्पादन गर्ने गैर सरकारी संस्था एन्टेन नेपालका प्रोडक्सन म्यानेजर राजन पराजुली यस कार्यक्रमका निर्माता हुन् । कविता भट्टराई र इराधा गौतमले कन्टेन्ट रिसर्चरको भुमीका प्ले गरेका छन् ।

आठ भाग सम्म सञ्चालन हुने यस कार्यक्रममा एचआईभी एड्सबाट प्रभावित बालबालिका, कुपोषण, अपाङ्गता, विद्यालयमा दिइने सजाय, बालविवाह, बालिका शिक्षा किन ? लगायतका विषयसँग सम्बन्धित बालबालिकासँग कुरा गरिएको छ । साथमा द्धन्द्ध प्रभावित बालबालिकाको वर्तमान स्थिति, मेहनत गरेर जिवनलाई सुखी र खुसी बनाउन सफल भएका बालबालिकाको कथालाई पनि कार्यक्रममा उठाएको छ ।

सेभ द् चिल्ड्रेनकी कार्यक्रम निर्देशक सिता घिमिरेले 'मैले जे भोगेँ' हिन्दी टेलिभिजन सो सत्यमेव जयतेबाट प्रभावित भएको खुलाईन् । उनले भनिन्- 'आमिर खानले सञ्चालन गर्ने कार्यक्रमसँग मैले जे भोगेँलाई तुलना गर्न मिल्दैन । तर, हामी त्यो कार्यक्रमबाट प्रभावित चाहि भएका हौं । सिमित लगानी र समयमा हामीले सत्यमेव जयतेको थिम मिल्ने गरी कार्यक्रम निर्माण गरेका छौ । यसमा हाम्रै देशको कथा छ ।'

मैले जे भोगेँको शिर्ष गीतको शब्द बुद्धि सागरले लेखेका छन् भने स्वर फत्तेमानको छ । कार्यक्रममा शिर्ष गीत र कार्यक्रमको छोटो अंश देखाइएको थियो ।

