तिहारको अवसर पारेर कार्तिक १५ गते देशभर एकसाथ प्रदर्शन हुन लागेको प्रतिक्षित फिल्म 'मधुमास'को अडियो गीत फिल्मीखबर डटकम मार्फत सार्वजनिक गरिएको छ । सुरेश अधिकारीको संगीतमा समावेश फिल्मका तीन गीत मध्ये दुई वटा रोमाण्टिक गीत प्रोमोशन स्वरूप रिलिज गरिएको हो ।
'आँटी सकेको यो दिलले...' बोलको गीतलाई कुमार बिबाहितले लेखेका हुन् भने स्वर दिपक लिम्बु र अञ्जु पन्तले दिएका छन् । यस्तै 'जुन झैं...' बोलको गीतमा संगीतकार अधिकारीकै शब्द रहेको छ भने स्वर राज सिग्देलले दिएका छन् । यसअघि निर्माण गरिएको फिल्म 'धन्दा'मा प्रोमोशनका लागि गीत प्रयोग नगरेको फ्राईडे फिल्म्सले यसपटक प्रोमोशनको पहिलो हतियार गीतलाई बनाएको छ ।
निर्देशक सुदर्शन थापाले आर्यन सिग्देल, पूजा शर्मा, मनोज आरसी र सिवांगिनी राणाको प्रेमकथालाई फिल्ममा देखाउन खोजेका छन् । मेरो एउटा साथी छ फिल्मबाट आर्यनलाई चर्चामा ल्याएका निर्देशक थापाले पुन: यस फिल्मबाट आर्यनको थप चर्चासँगै सफलताको सिंढी चढाउने बताएका छन् । हनिमुनको अर्थ राख्ने मधुमासबाट दर्शकले नयाँ स्वाद पाउने निर्देशक थापाको दाबि छ ।
बाबुराम दाहाल र निर्देशक थापाको संयुक्त लगानी रहने यो फिल्ममा दिनेश न्यौपानेको लेखन, सुरेश अधिकारीको संगीत, दीपक बज्राचार्यको छायाँकन र हिमाल केसीको द्धन्दनिर्देशन छ । फिल्मको दुई रोमाण्टिक गीतलाई लुम्बिनी, पाल्पाको रानी महल सहितको सुन्दर लोकेशन र धादिङमा सुटिङ गरिएको निर्माता दाहालले बताए ।
अडियो गीत सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोस् !

