नेपालको राजनैतिक परिवेशमा आधारित रहेर निर्माण गरिएको फिल्म 'नागरिक'को फस्टलुक तयार पारिएको छ । निर्देशक विमल पौडेलले सामाजिक सञ्जाल मार्फत फिल्मको फस्टलुक सार्वजनिक गर्दै चुनाव अगाडी नै नागरिक फिल्म पनि रिलिज हुने बताए ।
फिल्मको कथा जेठ १४ गतेको संविधान नबनेपछिबाट शुरू भएकाले फिल्म रिलिज चुनाव अगाडी नै गर्न उपयुक्त हुने उनको भनाई छ । उनी भन्छन्- 'चुनाव पछि फिल्म रिलिज गर्दा त्यसको महत्व रहँदैन । त्यसैले चुनावको टुंगो लाग्ने बित्तिकै फिल्मको रिलिज डेट पनि टुंगो लाग्छ ।' तर उनले फिल्म रिलिज पूर्व देशका बिभिन्न स्थानमा च्यारिटी भने गर्ने बताए । चितवनको चलचित्र पत्रकार संघको पहलमा यहि भाद्र ३१ गते नारायणघाटको इन्द्रदेव चलचित्र मन्दिरमा बिहान ८:३० बजे फिल्मको पहिलो च्यारिटी शो हुँदैछ ।

नागरिकका समस्याहरुलाई प्रष्ट रुपमा उजागर गरी राष्ट्रियतालाई कायम राख्न आम नागरिकको अहम् भूमिका प्रति स्पष्ट रहेको नेपाली फिल्म 'नागरिक'मा आम नागरिकको जनबोलीलाई प्रस्तुत गरिएको निर्देशक पौडेलको भनाई छ । मुन ईन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्मातात्रय यौवन राजभण्डारी, आयुश्री राजभण्डारी र सर्भानी राज्य दूलालको निर्माण रहेको यो फिल्मको फस्ट लुकमा निर्देशक तथा अभिनेता बिश्व बस्नेतलाई देख्न सकिन्छ । बिश्व नै फिल्मका मुख्य पात्र हुन् ।
निर्देशक पौडेलकै कथा रहेको यो फिल्ममा बिश्वको साथमा सरिता गिरी, रमेश बुढाथोकी, गणेश उप्रेती, पुष्पराज आचार्य, मोहन श्रेष्ठ, दिव्यादेव पन्त, राहुल केसी, अनु शाह, सफलता खनाल लगायतले अभिनय गरेका छन् । फिल्ममा राजुबिक्रम थापाको छायाड्कन, पुष्प आचार्यको गीत, लक्ष्मण शेषको संगीत, रोशन श्रेष्ठको द्धन्दनिर्देशन रहेको छ । तथा अच्युत घिमिरे र मनोज लामाको करियोग्राफी रहेको छ ।

