Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

म्युजिक भिडियो खेल्न किन मान्दिनन् रेखा ?

फिल्मीखबर, काठमाण्डौ, 2013/09/03

टप सेलिब्रेटीको लिस्टमा रहेकी अभिनेत्री रेखा थापा म्युजिक भिडियोमा देखिन नरूचाउने सेलिब्रेटी हुन् । मिस नेपालमा भाग लिंदा आनन्द कार्कीको 'लाग्छ मन हेरि रहुँ...' बोलको गीतमा पहिलो पटक मोडलिङ गरेकी रेखाको त्यो नै अन्तिम म्युजिक भिडियो बन्यो । 'धेरै अफर आए, पैसाको अफर पनि राम्रै आयो, तर म्युजिक भिडियोमा देखिने इच्छा कहिल्लै भएन,' रेखा प्रस्ट्याउँछिन्- 'फिल्मको कलाकार फिल्ममा नै देखिनुपर्छ भन्ने मेरो मान्यता हो ।'

 

म्युजिक भिडियोमा मोडलिङ गर्दा दर्शकको नजरमा सस्तो भईने व्यक्तिगत धारणा राख्ने रेखा भन्छिन्- 'दर्शकले जहाँ तहिं देख्न थाले भने कलाकारको भ्यालु रहँदैन । त्यसैले म्युजिक भिडियो मात्र हैन विज्ञापनमा पनि देखिने रूची छैन ।' अहिलेसम्म २ पिएम चाउचाउ, युटिएल टेलिफोन सेवा र हेरिटेज कार्पेटको विज्ञापनमा देखिएकी रेखा फिल्मका कलाकार म्युजिक भिडियोमा काम गर्नु भनेको पैसाको पछाडी लाग्नु रहेको धारणा राख्छिन् ।

 

म्युजिक भिडियोका लागि डेढ लाख रूपैंया सम्म अफर आएको बताउने रेखा भन्छिन्- 'म्युजिक भिडियो हेर्न म अत्याधिक रूचाउँछु तर पैसाकै पछाडी दौडेर भिडियो गर्ने पक्षमा म रहिन ।' अहिलेको स्थानमा हुनुको मुख्य कारण नै पैसाको पछाडी नलागी करियरको पछाडी लाग्नु रहेको उनको भनाई छ । 'फिल्मकै गीतमा देखिएर मलाई पुगेको छ,' उनी भन्छिन्- 'अरू कलाकारले भिडियो गरेको बिरोध गरेको त हैन तर कम देखिएको राम्रो भन्ने मेरो धारणा हो ।'

 

सबैको आ-आफ्नै व्यक्तिगत स्वतन्त्रता रहेको बताउँदै रेखाले अगामी दिनमा पनि फिल्ममा नै व्यस्त हुने तर म्युजिक भिडियोमा नदेखिने बताईन् । रेखा हाल आफैले निर्माण गरेको फिल्म 'काली'को प्रचारप्रसारमा व्यस्त छिन् । सबिर श्रेष्ठले निर्देशन गरेको यो फिल्म यहि असोज २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

 

म्युजिक भिडियोको व्याकग्राउण्डबाट आएका फिल्मी सेलिब्रेटीलाई छोडेर हेर्ने हो भने सबैभन्दा बढि म्युजिक भिडियोमा देखिनेमा अभिनेता राजेश हमाल पर्छन् । आधुनिक तथा राष्ट्रिय गीतमा मात्रै हैन लोक दोहोरी गीतका म्युजिक भिडियोमा समेत हमाललाई देख्न पाईन्छ । फिल्मका कलाकार म्युजिक भिडियोमा धेरै देखिनु त्यति राम्रो नरहेको तर्क दर्शक तथा सञ्चारकर्मीबाट सुन्न पाईन्छ ।