Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साफ च्याम्पियनसिप : सेलिब्रेटीको प्रेडिक्सन ?

फिल्मीखबर, काठमाण्डौ, 2013/09/03

फिफा वरीयतामा नेपालभन्दा ३ स्थानमाथि रहेको पाकिस्तानसँग साफ च्याम्पियनसिप अर्न्तगतको आजको खेलमा नेपाल र पाकिस्तान भिड्दै छन् । दशरथ रंगशालामा साँझ साढे ६ बजे शुरू हुने यो खेल दुबै टिमका लागि महत्वपूर्ण हुनेछ ।

 

यसअघि भारतसँग हार बेहोरेको पाकिस्तान आज नेपालसँग हारेमा समूह चरणबाटै घर र्फकने निश्चित हुनेछ । त्यसैले पाहुना टोली पाकिस्तान 'गर या मर'को स्थितिमा खेल्ने छ भने नेपाल साफमा पहिलोपल्ट लगातार दोस्रो जितसँगै सेमिफाईनलको यात्रा सहज बनाउन चाहन्छ ।

 

आज हुने नेपाल र पाकिस्तानको खेलमा दर्शकले मात्र हैन नेपाली सेलिब्रेटीले पनि निकै चासो दिएका छन् । केहि सेलिब्रेटीहरू दशरथ रंगशाला पुगेर खेल हेर्ने तयारीमा छन् भने केहि घरमै बसेर भए पनि आजको खेल नछुटाउने पक्षमा छन् । नेपालका केहि सेलिब्रेटीहरूले आज हुने नेपाल र पाकिस्तान बिचको खेलको नतिजालाई आफ्नै तरिकाले अनुमान लगाएका छन् ।

 


फुटबल र क्रिकेटका निकै क्रेजी अभिनेता जीवन लुईटेल आजको खेल रंगशालामा नै पुगेर हेर्ने छन् । भरत खवास, रोहित चन्द र अनिल गुरूङबाट धेरै आशावादी रहेका अभिनेता लुईटेलले आजको खेल नेपालले नै जित्ने दाबी गरे । उनले आजको खेल मात्र हैन साफ च्याम्पियनसिपको बिजेता पनि नेपाल नै हुने उनी दाबी गर्छन् । फाईनल खेलमा अफगानिस्तानसँग नेपालको भिडन्त हुने उनको प्रेडिक्सन छ ।

 

पछिल्लो समय नेपाली खेलाडीको खेलमा निकै सुधार आएको र शारिरिक रूपमा पनि फिट देखिएकाले नेपाल साफ च्याम्पियनसिप हुने जीवन बताउँछन् । बिशेषगरी जीवनले भरत र रोहितबाट धेरै आश राखेका छन् । १९९४ देखि अहिलेसम्म हुँदै आएको विश्व वर्ल्ड कप फुटबल हेर्दै आएका जीवनलाई इटालीको टिम अत्याधिक मन पर्छ रे !

 

नेपालमा हुने सेलिब्रेटी फुटबलको क्याप्टेन अभिनेता धिरेन शाक्यले आजको खेल मारामार हुने बताए । 'पाकिस्तान पनि कमजोर छैन तर नेपालले २-१ले आजको खेल जित्छ जस्तो लाग्छ,' धिरेनले अनुमान लगाए । नेपालले खेलमा सुधार ल्याईरहे पनि फाईनलम पुग्ने सम्भावना कम नै देखेका छन्, धिरेनले ।

 

फाईनलका लागि भारत बलियो टिम देखेका धिरेनले अर्को फाईनलमा पुग्ने टिम आजको खेलले निर्धारण गर्ने उनको भनाई छ । किरण चेम्जोङ, भरत खवास र अनिल गुरूङको खेललाई मन पराउने धिरेनले बिदेशी खेलाडीमा मेसीको खेलबाट आफू निकै प्रभावित भएको बताए । धिरेन आजको खेल घरमै बसेर लाईभ हेर्ने बताएका छन् ।

 

फुटबल खेलमा रूची देखाउने सेलिब्रेटीमा अभिनेत्री झरना थापा पनि पर्छिन् । नेपालमा हुने सेलिब्रेटीको मैत्रिपूर्ण फुटबल खेलमा प्राय: सहभागिता जनाउने झरनाले आजको खेल नेपालले नै जित्ने दाबि गरिन् । 'आफ्नो देश भएर भनेको हैन, नेपालले साँच्चिकै राम्रो खेल खेल्न थालेको छ । त्यसैले आजको जित नेपालको पक्षमा हुनेछ ।' झरनाले नेपालले जितोस् भनेर भवानसँग प्राथना समेत गरेको बताईन् ।

 

घरमै बसेर लाईभ हेर्ने योजना बनाएकी झरनाले फाईनल खेलमा पुग्ने टिम भने यहि नै भनेर भन्न सकिनन् । 'फाईनलको लागि आजको खेलले निर्धारण गर्छ,' झरनाले भनिन् । झरनालाई पनि अरू सेलिब्रेटीलाई जस्तै भरत र अनिलको खेल ज्यादा मन पर्छ । तर खेलमा जितका लागि हरेक खेलाडीको उत्तिकै महत्वपूर्ण भुमिका रहने भएकाले नेपाली सबै खेलाडी राम्रो रहेको उनको भनाई छ ।