अनुहार हेर्दा जति डरलाग्दो भएपनि निकै मिजासिलो स्वाभावका कुशल अभिनेता कमलकृष्ण पौड्यालले निर्देशनमा आफ्नो भविश्य खोजिरहेका छन् । यसअघि रावण र फुलस्टप निर्देशन गरेका कमलकृष्णको प्राण भन्दा प्यारो यहि असोज ४ गते रिलिज हुँदैछ ।
जय बाबा पशुपती नाथबाट डेब्यू गर्दै फिल्मका पर्दामा भिलेन भएर दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएका कमलकृष्णलाई छबिराज ओझा रावण मार्फत निर्देशक बनाए । फिल्मले राम्रै सफलता पायो । तर, दोस्रो फिल्म फुलस्टपबाट भने कमलकृष्णको करियर केहि तल खस्कियो । 'कमलकृष्ण त अभिनयमा नै ठिक थियो,' यस्तो भन्ने पनि देखिए । यिनै अब्बल अभिनेतालाई च्यालेञ्ज थपेको छ फिल्म 'प्राण भन्दा प्यारो'ले ।
रावण कमर्सियल फिल्म भएकाले दर्शकले रूचाएको बताउने कमलकृष्ण फुलस्टप नचल्नुमा आफ्नो दोष नरहेको बताउँछन् । फिल्मको आधा काम पोष्टप्रोडक्सनमा हुने भन्दै उनी भन्छन्- 'पोष्टमा म बस्न पाईन त्यसैले फिल्म सोचे अनुरूपको बनेन ।' फिल्मले राम्रो व्यापार नगरेपनि आफूले राम्रो काम गरेको दाबी उनको छ । यस्तै दाबि उनले फिल्म 'प्राण भन्दा प्यारो'मा पनि गरेका छन् । 'साधारण तर राम्रो फिल्म बनाउने कोशिस गरेको छु । दर्शकले रूचाउनु हुन्छ भन्ने आश छ ।'
नारीहरूको पिल्सिएको पिडालाई पर्दा मार्फत प्रस्तुत गरेर परि आएको खण्डमा नारीले आफू माथी भएको अन्यायको बदला आफै लिन सक्छन् भन्ने बिषयमा आधारित रहेर फिल्म बनाएको कमलकृष्णको भनाई छ । फिल्मबाट दर्शक धेरै आशावादी नहुन आग्रह गर्दै निर्देशक पौड्याल थप्छन्- 'नारी माथी अत्याचार भइरहँदा राज्यले केहि गर्न सकेको छैन । हामीले फिल्म मार्फत भए पनि जनतालाई जागरूक बनाउने कोशिस गरेका छौं । एक पटक फिल्म हेरेर प्रतिक्रिया दिनु हुनेछ भन्ने आश छ ।'
पञ्च परमेश्वर फिल्मसको व्यानरमा तयार भएको फिल्म प्राण भन्दा प्यारोमा बासु पुडासैनी, अनामिका चौलागाई, आशा खड्का, बिष्णु सापकोटा, कमलकृष्ण लगायतका कलाकारको अभिनय छ ।

