नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले कलाकारको आफ्नै आकर्षण भएकाले राजनैतिक दलले आफ्नो पार्टीमा तान्न खोजेको बताएका छन् । पछिल्लो समय कलाकारहरू राजनीतिमा लाग्न थालेकाले अर्जुनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
सोमबार राजधानीमा आयोजना गरिएको एक राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गर्न उपस्थित भएका नेता केसीले फिल्मीखबरसँगको कुराकानीमा भने- 'जनताका सामु नेता भन्दा कलाकार बढि प्रभावकारी हुन्छन् । त्यसैले अहिलेको संविधान सभाको चुनावमा कलाकारलाई आकर्षण बनाउन खोजिएको हो ।' उनले आफ्नो पार्टीले भने कलाकारसँग राजनीतिकरण गर्न नखोजेको बताए । 'उहाँहरूले चासो दिनुभएकाले हामी आफ्नो पार्टीमा ल्याउन सकारात्मक भएका मात्र हौं ।'
कलाकारलाई राजनीतिमा ल्याउँदा तपाईं नेताहरू पछाडी पर्नुहोला नि ! भन्ने जिज्ञासामा नेता केसीले भने- 'लोकतन्त्रमा जो कोहीले उछिन्न सक्छ । कलाकारले पछार्छन् भनेर डराउन पनि भएन नि !' कलाकार राष्ट्रको गहना भएकाले जुन पार्टीको झण्डा मुनि बसे पनि राष्ट्रिय एकतामा कलाकारले जोड दिनुपर्ने उनको धारणा थियो । कलाकारको समाज रूपान्तरणमा ठूलो भुमिका रहने समेत उनले बताए ।
नेपाली फिल्म कमै हेर्ने नेता केसीले पछिल्लो समयका कलाकारहरूमा उत्कृष्टता पाएको बताउँदै गुणस्तर फिल्म भने नबनेको बताए । बिदेशी फिल्मको नक्कल गर्ने बानी परेका फिल्मकर्मीलाई नेता केसीले सुझाए- 'बिदेशी नक्कल भन्दा स्वदेशी अक्कलमा ध्यान दिनुहोस् । फिल्म क्षेत्रको विकास हुन बेर लाग्दैन ।' पछिल्लो समय संख्यात्मक फिल्मको विकास भएको ज्ञान राखेका केसीले गुणात्मक फिल्म निर्माणमा जोड दिनुपर्ने समेत बताए । यस्तै उनले नेपाली मौलिकता र राष्ट्रिय भावना भएका फिल्मको निर्माण गर्नु आवश्यक रहेको समेत बताए ।
पाँच दिन कुरेर पहिलो पटक माईतिघर फिल्म हेरेको स्मरण गर्दै नेता केसीले नेपाली फिल्म हेर्ने रूची अत्याधिक रहे पनि समयको पावन्दीले गर्दा हेर्न नपाएको दुखेसो पोखे । हलमा गएर फिल्म हेर्ने समय निकाल्न नसकेपनि टिभी फिल्मीमा भने नेपाली फिल्म हेरिरहने बताए । उनले नेपाली फिल्म प्रसारण गरेकोमा टिभी फिल्मीलाई धन्यवाद समेत दिए ।
.jpg)
नेता केसीले सार्वजनिक गरेको म्युजिक भिडियोमा अभिनेता रमित ढुंगाना, अभिनेत्रीद्धय नन्दिता केसी र ममता प्रधानको साथमा कलाकार अमित ढुंगाना, रामेश्वर बुर्लाकोटी लगायतले अभिनय गरेका छन् । राष्ट्रियताको शब्द कोरिएको सो गीतको म्युजिक भिडियोलाई बादल प्रसाईंले निर्देशन गरेका हुन् । गीतमा बिकाश बिष्टको शब्द, मनोज राजभण्डारीको संगीत तथा बिकाश बिष्ट र कोमल राजभण्डारीको स्वर रहेको छ । समारोहमा गायकद्धय सत्यराज आचार्य र स्वरूपराज आचार्यको पनि उपस्थिती थियो ।

