सुरज सुब्बा 'नाल्बो'को निर्देशनमा सोमबारबाट फिल्म 'वान वे'को मुहुर्तसँगै सुटिङ शुरू गरिएको छ । काठमाण्डौको गौरीघाट स्थित नयाँ बस्तीमा फिल्म निर्माण युनिट र सञ्चारकर्मीमाझ फिल्मको मुहुर्त सम्पन्न भयो ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गर्न लागेको यो फिल्ममा करिष्मा मानन्धर, रक गायक रबिन तामाङ, विल्सन विक्रम राई, सिद्धार्थ गुरूङ, माला सुब्बा, आकाश खवास, प्रकाश ओझा, श्याम राई लगायतले अभिनय गर्नेछन् । फिल्म 'वान वे'को कथा निर्देशक सुब्बाले लेखेका हुन् भने पटकथा प्रदिप भट्टराईको रहेको छ । अहिलेको युवापुस्ता यू टर्न गर्न चाहँदैन भन्ने थिममा रहेर फिल्म निर्माण गर्न लागेको निर्देशक सुब्बाले बताए ।
(1).jpg)
फिल्म छड्केमा भिलेनको रूपमा अभिनय गरेका चर्चित रक गायक रबिङ तामाङले वान वेमा पनि भिलेनकै भुमिका निर्वाह गर्दैछन् । छड्केबाट निराश बनेका दर्शकलाई वान वेले खुसी बनाउने रबिनले मुहुर्त समारोहमा बताए । यस्तै यसै फिल्मबाट डन दिपक मनाङ्गेका छोरा सिद्धार्थ गुरूङले अभिनेताको रूपमा डेब्यू गर्दैछन् भने रिलिज हुन नसकेको फिल्म गुडबाई काठमाण्डूकी अभिनेत्री माला सुब्बा कमव्याक हुँदैछिन् ।
(1).jpg)
आरसी पिक्चर्सको सातौं प्रस्तुतीको रूपमा निर्माण हुन लागेको यो फिल्मलाई एकैपटक तीन क्यामेराले खिच्ने छ । ३५ दिनको सेड्यूल निकालेर काठमाण्डौमा नै सम्पूर्ण सुटिङ हुने यस फिल्मका मुख्य छायाँकार हरि लामा हुन् भने टेकबहादुर राई र दिपेन्द्र प्रसाद थपलियाले पनि फिल्मलाई खिच्नेछन् । 'फिल्म निर्माणमा हामीले कुनै कम्प्रमाईज गर्दैनौं । त्यसैले सुटिङमा पनि तीन वटा क्यामेराको प्रयोग गरिएको छ भने अन्य मेकिङ पनि केहि फरक हुनेछ,' निर्माता राईले भने ।

नेपालीहरूको रात्री जीवनलाई देखाउन खोजिएको यस फिल्ममा रबिन एण्ड दि न्यू रिभोलुसन र डम्बर नेपालीको संगीत रहने छ । फिल्ममा रोशन श्रेष्ठको द्धन्दनिर्देशन तथा निलिमा शर्माको कस्टुम स्टाईल रहनेछ । यस्तै निर्माता राईले प्राबिधिकहरूलाई काममा सहज वातावरणको सिर्जना गर्न हप्ताको एक दिन छुट्टी दिने परम्पराको थालनी आफ्नै फिल्मबाट शुरू गर्ने बताए ।

